रुकुम पुर्व: बौलाहा कुकुरले टोकेर जिल्लाको सिस्ने गाउँपालिका ५ मा ६ जना घाइते भएका छन । शुक्रवार र शनिबार गरि दुई दिनको अवधीमा ६ जनालाई घाइते बनाएको हो ।

घाइते भएका सबैको रुकुम पुर्व अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम पुर्वका प्रहरी निरीक्षक सत्य कुमार बुढाथोकीले जानकारी दिए ।

घाइते हुनेमा ५ नम्बर वडाका ७ वर्षीय सुगम शाह, २६ वर्षीय पुर्ण बिसि, ५० वर्षीय धनबहादुर बिक, ७० वर्षीय टंक प्रसाद शर्मा, ४० वर्षकी पुतली दमाई रहेको रुकुम पुर्व अस्पतालकी ल्याब असिस्टेन्ट जीवन सुनारले जानकारी दिइन् । उनका अनुसार दाङ तुलसीपुरका ३८ वर्षीय वेदबहादुर वि.कलाई पनि सोही वडामा बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।

बौलाहा कुकुरलाई बुढाथोकीको कमान्डमा खटिएको सशस्त्र प्रहरी, गस्तीमा गएको नेपाल प्रहरी र स्थानीय युवाहरुको प्रयासमा नियन्त्रणमा लिइ मारिएको छ । गाउँमा भएका नागरिक र पशुचौपायालाई टोकेर आतंक मच्चाउन थालेपछि बौलाहा कुकुर मारिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

उक्त कुकुरले खसी, बाख्रा र कुकुर लगायतका दर्जन भन्दा बढी पशुचौपायालाई टोकेको स्थानीयले जनाएका छन ।