
रुकुम पुर्व: एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको रुकुम पुर्वमा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना हुन सकेको छैन । क्षेत्र नम्बर १ र २ का दुर्गम भेगबाट समयमा मतपेटिका संकलन नहुँदा मतगणनामा ढिलाइ भएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर (१) को पेल्मा र (२) को पाखापानीका मतपेटिका जिल्ला आइपुगेका छैनन् । यि बाहेक जिल्लाका अन्य ठाउँको मतपेटिका भन्ने सदरमुकाम पुगेका छन ।
सोमबार साझ ४:०० बजेसम्म पेल्मा र पाखापानीको मतपेटिका आइपुग्ने पराजुलीले बताए । त्यस लगतै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने उनको भनाइ छ । उनका अनुसार दुर्गमका मतपेटिका संकलन गर्न समय लागेका कारण सर्वदलीय बैठक पनि बस्न सकेको छैन ।
अप्ठ्यारो भूगोल र यातायातको पहुँच नहुदा दुई स्थानको मतपेटिका संकलनमा ढिलाइ भएको हो ।
अन्य मतपेटिका सदरमुकाम रुकुमकोट स्थित रुक्मिणी माविको नयाँ भवनमा संकलन गरिएको छ । सोही भवनमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जम्मा तीन स्थानीय तह रहेको रुकुम पुर्वमा ६१.८२ प्रतिशत अर्थात २१ हजार ९० मत खसेको छ । यहाँ ४४ मतदान स्थल र ५६ मतदान केन्द्र कायम गरिएको थियो ।