जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टबाट जोगिन जिल्लाबासीलाई आग्रह गरेको छ । तत्काल कोभिड महामारीको संक्रमण नेपालमा नदेखिएपनि विश्वको अन्य विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट देखा पर्न थालेपछि गृहको परिपत्रअनुसार जिल्लामा कोभिड व्यवस्थापन समितिको बैठक बसी जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

कोभिड व्ययवस्थापन समितिको बैठकमा छलफल गरि सबै स्थानीय तहमा रहेका आइसोलेशनमा सरसफाई गरि व्यवस्थित गराउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो । सार्वजनिक यातायात तथा बढी भिडभाड हुने ठाउँमा मास्क र स्यानिटाईजरको प्रयोग गर्ने, सेवा प्रवाह गर्ने निकायहरुमा स्वास्थ्य प्रोटोकोल लागु गर्ने निर्णय गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार कोभिड १९ कम गर्न जनचेतनामूलक सामाग्रीहरु प्रकाशन, प्रशारण गर्ने, ५ वर्ष देखी १२ वर्ष उमेर समूह बालबालीकाको संख्या सबै पालिकाले एकिन गरी स्वास्थ्य कार्यालयमा पठाउने र एकिन संख्याको आधारमा फाईजर खोप आपुर्तीको लागि प्रदेश स्वास्थ्य कार्यालय समक्ष माग गर्ने निर्णय गरिएको छ ।