रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास गरिएको छ । गाउँपालिकाको कार्यालय रहेको तकमा मंगलबार ग्यास लिक भएर आगलागी भएमा कसरी नियन्त्रण गर्न सकिन्छ र भुकम्प गएको बेलामा घर भित्र कसरी सुरक्षित रहन सकन्छ भनेर देखाउन नमुना अभ्यास गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) र जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नरसिंह दल (ग) गुल्म रुकुम(पूर्व), जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व), सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम(पूर्व) को समन्वयमा तकमा नमुना अभ्यास गरिएको हो । पुथा उत्तरगंगा गाउँपालिका गाउँपालिकामा घरमाथी जोडिएका घरहरु छन् । खाना पकाउने ग्यासको प्रयोग बढ्दो मात्रामा छ ।

 

यस्तो ठाउँमा आगलागी भयो भने ठुलो क्षती हुने भएकाले यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरा नागरिकलाई जानकारी गराउनको लागि नमुना अभ्यास गरिएको विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो ।

 

आगलागीका घटना भएमा र भूकम्प गएमा कसरी सुरक्षित हुने भन्ने कुरा थाहा नपाउदा धेरै क्षती बेहोर्नुपर्ने अवस्था सिर्जना हुने गरेको प्रजिअ सुनुवारले बताउनुभयो । यस्ता विपदबाट आफु र परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरा नमुना अभ्यासमार्फत नागरिकलाई सचेत गराएको उहाँको भनाई छ ।

सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठले प्राकृतिक विपदको सामना गर्न यसरी गरिने नमुना अभ्यासले नागरिकलाई सचेत गराउने विश्वास लिएको बताउनु.भएको छ । यस जिल्लामा बेलाबेलामा सडक दुर्घटना, आगलागी, भुकम्प लगाएतका विपदबाट बच्न कसरी सुरक्षा सतर्कता अपनाउन सकिन्छ भनेर नमुना अभ्यास गर्दै आएको बताउदै डिएसपी श्रेष्ठले यसले नागरिकमा सकारात्मक प्रभाव पर्ने गरेको पनि बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनुवारसँगै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वडाध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, तकसेराका नागरिकहरुको उपस्थितीमा नमुना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।