रुकुम पूर्वमा पनि १० औँ राष्ट्रिय संविधान दिवस मनाइएको छ । बिहिबार प्रभातफेरी तथा मञ्चको कार्यक्रम गरेर संविधान दिवस मनाएको हो । जिल्ला समन्वय समिति र सिस्ने गाउँपालिकाको संयुक्त आयोजनामा संविधान दिवस मनाईएको हो ।

जिल्ला समन्वय समितको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी छिप्रिदह हुँदै चोकबजार-बाहुनठाना-कमलदहबाट रुक्मिणी माध्यामिक विद्यालयको प्राङ्गणमा पुगेर मञ्चको कार्यक्रममा परिनत भएको थियो ।

संविधान दिवसको अवसर पारेर रुकुम पूर्वमा असोज १ र २ गते मध्यपहाडी लोकमार्गको नाला सरसफाई गरिएको थियो भने वक्तृत्वकला प्रतियोगिता, ब्याडमिन्टन र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनले नेपालको संविधान उत्कृष्ट निर्माण भएकाले राम्रो ढंगले कार्यान्वयन गर्न तर्फ  ध्यान दिनुपर्ने बताउनुभएको छ । २०७२ सालको संविधान निर्माण हुनुभन्दा पहिला राजा तथा शासकबाट जारी गरिएको संविधान जनतालाई शासन दिने गरी बनाएकोले धेरै समयसम्म नटिकेको र वर्तमान संविधान जनताले आफैले लेखेको  संविधान उत्कृष्ट र समावेशीता भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका अन्य सहभागिहरुले पनि संविधानमा व्यवस्था भएका विषय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सुरक्षाकर्र्मी, निजामती कर्मचारी, लगायतको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीसहित विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्लास्थति नीजामती कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गर्नुभएको थियो ।