
हामीलाई थाहा छ, खालीको अर्थ रित्तो हो भनेर । तर यही खाली भन्ने शब्दले सबैलाई भरी बनाउँछ । जस्तै मैले मेरो दिलमा तिम्रो लागि ठाउँ खाली छ भनेपछि खाली ठाउँमा आएर तिमी बस्यौ भने मेरो दिलको खाली ठाउँ पुरा हुन्छ । परिक्षामा हेर्नुस वाक्य पुरा गर्नलाई खाली ठाउँ भर्नुपर्छ । कती जनाले आफ्नो जीवनको खाली ठाउँ भरिसक्नुभएको छ । कती जनाले भर्नै बाकी छ ।
खाली खोला,
खाली खोला अब खाली रहेन् । त्यहाँ पुगेपछि मलाई लाग्यो, यो खाली खोला पहिले पनि खाली थिएन् । खाली खोलाको पहिचान र यसको विशेषतामा मलाई अली तालमेल नमिलेको जस्तो महसुस भयो । यती सुन्दर ठाउँ छ । खाली भन्यो कसले ? यो खाली खोला बागलुङको निसिखोला गाउँपालिका भित्र पर्दछ । यो क्षेत्रमा भने केहि पाइला दायाँ सारे रुकम पूर्व र केही पाइला बायाँ सारे बागलुङमा छु भन्न पाइन्छ ।
गएको शुक्रबार म पनि खालीखोलाको सुन्दरतासँग रमाउन भन्दै घरबाट निस्किए । मेरो साथमा हुनुहुन्थ्यो सिर्जना खड्का दिदि र बागलुङबाट आउदै हुनुहुन्थ्यो साथी रमिता पुन मगर । हामी तिन जना मध्यपहाडी लोकमार्गको यात्रा गर्दै रुकुम पूर्व र बागलुङको सिमाना पातिहाल्नामा भेट भयौ । यो पातिहाल्ना दुइ जिल्लाको मात्र होइन् दुई प्रदेश लुम्बिनी र गण्डकीको सिमाना क्षेत्र हो । पातिहाल्नाको छोटो भलाकुसारीपछी हामी तिन जना कोइपाको यात्रा तय गर्यौ । किनभने हामीलाई साझ बास बस्न कोइपामा पुग्नु थियो । पातिहाल्नाबाट करिब १ किलोमिटर रुकुम पूर्वतर्फको लोकमार्ग झरेर फेरी हामी उकालो लाग्यौ । जंगलको बाटो, रमाइला गफ र एकअर्काको साथसँगै सजिलै हामी २ घण्टाको पैदल यात्रापछी कोइपामा पुग्यौ । कोइपा पुग्नलाई बाइक र गाडी जाने बाटो छ । तर अहिलेको समयमा गाडी जानलाई बर्खामा बिग्रिएको बाटो मर्मत गरिएको छैन् । मोटरसाइकल जान्छन् तर हामीसँग मोटरसाइकल थिएन् ।
कोइपामा पहाडी आगन क्याम्पमा हामीले प्रवेश गर्यौ । यो पहाडी आगन क्याम्पका संचालक दिलचन पुन भाईले प्रकृतिमै फुलेका फुलहरुले न्यानो स्वागत गर्नुभयो । ३५/३६ सय मिटरको उचाइमा चिसोले स्पर्स गर्दै थियो । तातो पानि, पप्कनको साथमा चिया पियौ । चाउँचाउँ साधेर खायौ । एकछिन गफियौ । त्यसपछि टेन्टमा छिर्यौ । सोचेकै थिएन् बासको लागि त्यहाँ यती राम्रो व्यवस्था छ भनेर । एकछिन हामी तिनै जना आराम गरेर पहाडी आगन क्याम्पको शिर बनेको जलाकीमा निस्कियौ । फूल टिपेर जलाकीमा मनको बिन्ती बिसायौ । यतीबेला साझको ६ बजिसकेको थियो । जलाकीको आडमा बसेर हेर्दा आकाश खुल्दै गएको थियो । लाली किरण छर्दै सुर्य लुक्दै गएको थियो । मसँग पहाड मस्किदा कुहिरो कड्किएको थियो । सधै डाडाकाडाँ छोप्ने अनी मलाई पनि ढोक्ने कुहिरो त्यो दिन मेरो छेउ परेको थिएन् । म भन्दा अली टाढा पहाड भन्दा तल बुट्टा भरेर बसेको थियो ।
समय ढ्ल्कदै थियो । पहाडी आगन र गगनको दृश्य झन बदलिदै थियो । आकाश हेर्यो आकाशै राम्रो, धर्ती हेर्यो धर्ती नै राम्रो । नजरलाई क्षितिजतीर पुर्याउदा लाली किरणको रंगले पोतिएका दृश्यले सबैको ध्यानलाई खिच्यो । त्यसैमा हामीले केहि समय फोटो, भिडियो खिचेर बितायौ ।
त्यही पलले झन हामीलाई एकअर्काको नजिक बनायो । यतीबेलासम्म क्याम्पका नविन अधिकारीसँग पनि परिचय भयो । त्यसपछी हामी सबैजना क्याम्पमा फर्कियौ । काकाले मिठो खाना तयार पारिसक्नुभएको थियो । हामीले खाना खायौ । खानाको तारिफ गरी साध्य थिएन् । खाना मिठो की भोकले हो छुट्याउनै सकिएन् । सायद खाना नै मिठो थियो । अनी नविन अधिकारीको गफ पनि उत्तिकै मिठो थियो । त्यस दिन क्याम्पमा हामी मात्र थियनौ । हामीसँगै बागलुङको ठुलो समुह पनि त्यहाँ पुगेको थियो । खाना खाइवरी सबै जना सुत्यौ ।
भोलिपल्टको बिहान ६ बजेतिर उठ्यौ । तातोपानी र कफी पिएपछी खाजा खायौ । लगत्तै पहाडी आगनलाई छोडेर खाली खोलाको यात्रा तय गर्यौ । यात्रामा एक घण्टा बितेको पत्तै भएन् । खुलेको आकाश, चिसो सिरेटो र त्यसमा मिसिएको न्यानो घामको किरणले शरीर चंगाझै थियो । पछाडी हेर्दा रुकुम पूर्व, दायाँ हेर्दा रोल्पा र बायाँ हेर्दा बागलुङका चुचुराहरु मसँगै बराबर भएर उभिएका थिए । हिडेको होइन, उडेकै ऐहिसासका साथ खालीखोलामा पुगियो ।
फुलहरु यती सुन्दर थिए । फुलहरुलाई संबोधन नगरी मन शान्त हुनै सकेन् । तर हामीलाई फुलको नाम नै थाहा भएन् । फूलको नाम सोधौ भने त्यहाँ कुनै माली थिएन् । त्यसपछी मलाई लाग्यो, फूलका आली यिनै थुम्का हुन् । फुलका माली तिनै चुचुरा हुन् । बिहानीको झुल्के घामसँगै तङ्ग्रिने यी फुलहरु दिनभरी मै जस्ता बटुवाहरुसँग रमाउदाहुन् । कसैले कुल्चिदा र चुडाल्दा अस्तित्व सम्झी डराउदाहुन् । सितको थोपाले भरेको उर्जासहित हावाको गतिसँगै लहराउदाहुन् । मैले यती आकलन गर्न सके । त्यहाँको फूलहरु र प्रकृतिको दैनिकीलाई एक दिन गएर वर्णन गर्न सकिदैन् ।
हामी जती अघि बढ्थ्यौ उती नै फुलका बगैँचाहरु भेटिन्थे । केहि समय हामीले खालीखोलामा फोटो खिच्यौ । भिडियो, टिकटक बनायौ । सर्जना, सिर्जना र रमिताको फोटो भिडियो प्रकृतिलाई अथाह माया गर्ने भाई दिलचन पुन मगरले खिचिदिनुभयो ।
जहाँ टेक्यो त्यही फूल
मनले भन्थ्यो यतै भूल
सबैको दिल खालीमा बसेको थियो
झरणा जसरी कुहिरो खसेको थियो…
त्यही बसिरहन पनि समय परिस्थितीले नमिल्ने । ११ बजेतिर त्यहाँबाट फर्कियौ । पहाडी आगन क्याम्पमा पुगेर खाना खायौ । खानापछी दिलचन पुन र नबिन अधिकारीसँग केहि समय मिठो भलाकुसारी भयो । उहाँहरुले पछिल्लो समयमा पर्यटकिय क्षेत्रको प्रचारप्रसारले जिल्लाको नयाँ पहिचान बन्दै गएको महसुस गरेको सुनाउनुभयो । केहि समय अगाडी चौरी खर्कमा खनिएका मानिसहरु अहिले फूलेका फूलहरुले खाली खोलातिर आकर्षित भएको उहाँहरुले बताउनुभयो । उहाँहरु भन्नुहुन्छ, “खालीखोला र चौरी नजिक नजिकै रहेको कारण एक ठाउँको गन्तव्य बनाएर आएका सबै मानिसहरु दुवै ठाउँमा पुगेर फर्कने गरेका छन् । यो क्षेत्रमा आउने मानिसहरुको सहजताको लागि र पर्यटन क्षेत्रमा केहि टेवा पुगोस भन्ने हेतुका साथ केही साथीहरु मिलेर पहाडी आगन क्याम्प संचालनमा ल्याएका छौ । यसले हामीलाई व्यस्त बनाएको छ भने यहाँ आउने आन्तरिक पर्यटकहरुलाई पनि सहज भएको छ । यस क्षेत्रको विकासको लागि बागलुङ र रुकुम पूर्वका स्थानीय तह र जनप्रतिनिधी सबैको ध्यान जान जरुरी छ ।”
त्यसपछी हामी कोइपाबाट छुट्टियौ । यात्रामा भेटिएका मनोरम दृश्यहरुको चर्चा गर्दै हामी ३ जना फेरी पातिहाल्ना झर्यौ । मध्यपहाडी लोकमार्ग पुग्ने बित्तिकै रमिता मिसको लागि भाग्यमानीको भुतै कमारो भनेजस्तै एउटा स्कार्पियो भेटियो । स्कार्पियो चढेर उहाँ गइहाल्नुभयो । हामी अब दुइजना काठमाडौंबाट रुकुमकोटतर्फ आउने गाडीको पर्खाईमा थियौ । २ घण्टा सिमानामा बस्यौ । अह, रुकुमबाट बागलुङतर्फ जाने पचासौ गाडी भेटिए । रुकुमतर्फ आउने एउटा गाडी भेटिएन् । अबेर हुन थाल्यो । गाडी पनि आउदैनन् । यसरी बसेर हुदैन् । जहाँ पुगिन्छ हिडौं । भेटिए गाडीमा जाउला नत्र अटो, ट्याक्सी केहि बोलाउला भनेर सिर्जना दिदी र म त्यहाँबाट हिड्यौ ।
मध्यपहाडी लोकमार्गमा १ घण्टा भन्दा बढीको पैदल यात्रापछी रुकुम पश्चिम जान लागेको एउटा स्कार्पियो आयो । हामीलाई रुकुमकोटसम्म लैजान अनुरोध गर्यौ । उहाँहरुले सहजै हाम्रो अनुरोधलाई स्विकार्नुभयो । हामी गाडी चढेको ५ मिनेटमै गाडी बिग्रियो । यतीबेलासम्म साझको साढे ५ बजिसकेको थियो । गाडी स्टार्ट हुन्थ्यो । अगाडी फिटक्कै बढ्दैनथ्यो । सबै मिलेर जन्मेदेखीको बल लगाएर गाडीलाई धक्का दियौ । गाडी हलचल गरेन् । रुकुमकोट ग्यारेजमा दिपक विसी दाईलाई फोन गरेर मिस्त्री पठाउन लगायौ । मिस्त्री आउन झण्डै २ घण्टा समय लगाए । गाडी बनाउन १ घण्टा बढी समय लाग्यो । त्यतीबेलासम्म हामीलाई लिफ्ट दिने स्कार्पियोमा सवार म्याम सन्ध्या बुढाथोकोसँग परिचय भयो । उहाँसँग कुराकानी गर्ने क्रममा थाहाँ भयो हाम्रो अनुरोधलाई सहजै स्विकारी सहयोग गर्नुहुने राष्ट्रियसभाका सदस्य रहनुभएका रुकुम पश्चिमका कृष्ण बहादुर रोकाय हुनुहुदो रहेछ ।
रातीको १० बजेतिर गाडी बन्यो । गाडी बनेपछी सबै गाडीमा चढ्यौ । गुडेको १० मिनेटमा फेरी बिग्रियो । टाउको दुखेको छ । आखा दुखेको छ । चिसो लागेको छ । गाडी बिग्रेको तनाव अर्कोतिर छ । सबैलाई गाह्रो भयो । ति मिस्त्रीलाई फेरी बोलाएर गाडी चेक गर्न लगाइयो । उनिहरुले गाडी बन्दैन र हामीले बनाउन सक्दैनौ भने । अब हामीलाई फसाद पर्यो । गाडीलाई जंगलमा छोडेर हिड्ने अवस्था थिएन् । एक जना जिप चालकलाई बोलाएर स्कार्पियो डोर्याउदै लुकुम पुर्याइयो । रुकुमकोटबाट बोलाइएको अर्को बोलेरो गाडी पनि पुगेको थियो । यतिबेलासम्म रातीको १२ बजिसकेको थियो । स्कार्पियोको सामान गाडीमा राखेर त्यहाँबाट हिड्यौ । रुकुमकोट आइपुग्दा रातीको सवा १ भएको थियो । सन्ध्या म्यामको टोली मुसिकोट पुग्दा ३ बजिसकेको रहेछ । अहो ! साह्रै महंगो पर्यो यसपालिको खालीखोला घुमाई ।