दशैंको चटारो,

टिका र दक्षिणा लिन हतारो

यस्तै समय चल्दै थियो ।

असोजको १६ गते दशैंको टिका लगाएर १७ गते रुकुमकोटबाट अन्न्पूर्ण बेस क्याम्प (North) Annapurna I को लागि घरबाट निस्कए । घरबाट निस्कदा म आफै पनि डराइराखेको थिए । परिवारमा कसैको अनुहारमा खुसी पनि थिएन् । सबै जनाले नजान भन्नुभएको थियो । म डराउनु र यो यात्रामा परिवारले रोक लगाउनुको कारण एउटै मात्र थियो । मौसम पूर्वानुमान महाशाखाले गरेको १७-२० सम्म हुने आरीघोप्टे वर्षा र यसबाट हुने क्षतीको आकंलन ।

यो यात्राको लागि म आफै पनि उत्साहित थिएन् । सँगै सरसल्लाह गरेका साथिहरुको वचन काट्न नसकेर दोधारमा परी यात्रालाई अघि बढाएको थिए । १७ गते पौने १० बजेतिर एक जना दाइलाई पातिहाल्नासम्म बाइकमा छोड्न लगाए । यो बिचमा एक ठाउँमा पहिरोमा परेर १ घण्टा जाममा पर्यौ । पातिहाल्नामा पुगेपछि दाइ रुकुमकोट फर्कनुभयो । अब यात्रामा दिलचन भाई जोडिनुभयो । अबको यात्रा बेनीसम्म बाइकमा दिदिभाईको थियो । जब सिमानाबाट यात्रा सुरु गर्यौ, पानी पर्न सुरु भयो । बागलुङसम्म हामीलाई झरीले साथ छोडेन् । यात्रा राम्रै भयो । लाग्छ झरी नपरेको भए हाम्रो यात्रा अझ राम्रो हुनेथियो । बागलुङबाट बेनीको लागि अघि बढ्दा कतै पानी परेको थिएन् ।

हामी बेनीमा पुग्दा केही साथिहरु पहिलेनै पुगिसक्नुभएको थियो । हामी होटेलमा पुग्नेबित्तिकै मम्मीको  फोन आयो । रुकुममा मौसम पूर्वानुमान महाशाखाले अनुमान लगाएझै ठुलो वर्षा भइरहेको रहेछ । आत्तिदै सोध्नुभएको थियो । पानी परेको छ ? बस्ने ठाउँ कस्तो छ ? खोला कती टाढा छ ? बेनीमा पानी पनि परेको थिएन् । पानी पर्ला झै मौसम पनि गरेको थिएन । आफुहरु सुरक्षित भएर बस्नुस यताको चिन्ता नलिनुस भनेर ढुक्क बनाएर फोन राखिदिए ।

साथीहरु आउने क्रम जारी थियो । सबै साथीहरु जमघट भएपछि खाना खायौ । एकछिन नाँचगान गरेर रमायौ र सुत्यौ । बिहान सबैजना उठेर ब्रेकफास्ट गर्यौ । परिचयात्मक कार्यक्रम गर्यौ । हाम्रो यो यात्रामा १८ गतेको दिन लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशी र उहाँको श्रीमती पनि जोडिन आइपुग्नुभयो  । यात्रामा जम्मा २६ जना थियौ । अन्नपूर्ण बेस क्याम्पको यो यात्रा र यो टोलीलाई यसपाली हाइज फाइभ एडभेन्चर प्रालीले व्यवस्थापन गर्दै थियो । यो कम्पनीका प्रवन्धक २ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसक्नुभएका नर्विन मगर पनि दशैको चटारो र हतारोलाई छोडेर १८ गते बिहान बेनीमा आइपुग्नुभयो । त्यसपछि सबैजना बेनीबाट तातोपानिसम्मको लागि बसको यात्रामा निस्कियौ । बसमा कालिगण्डगकीलाई कहिले दायाँ पारेर यात्रा गर्यौ त कहिले बायाँ पारेर यात्रा गर्यौ । यो यात्रामा झरणाहरु गनेर नसकिने थिए । कालिगण्डकी सुस्साउदा झरणाहरु यसरी झरिरहेका थिए की सायद हामीलाई छोडेर कालिगण्डकी जाने छ र हाम्रो समुन्द्र भेट्ने सपना सकिने छ । मनोरम दृश्यको आनन्द लिदै तातोपानी पुग्यौ । तातोपानीमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले सबैजना त्यही ओर्लियौ ।

त्याहाँबाट अब हामीले मुस्ताङ जाने बाटोलाई छोडेर नारच्याङ गाउतर्फ मोडिदै थियौ । डबल क्यापवाला गाडीमा कोही भित्र बसेर त कोही गाडीको ढालामा बसेर यात्रा गर्नुपर्ने अवस्था थियो । बाहिरको सुन्दर दृश्यलाई गुमाउन म चाहदैनथिए । त्यसैले मेरो रोजाइ पनि गाडीको ढाला बन्यो । गाडीको ढालामा बसेर यात्रा गरेको यो मेरो पहिलो पटक थियो । हामी चढेको गाडीको ढालामा मसँगै साथीहरु रमिता, बिनिता र दिपक भण्डारी उर्फ कपिड भ्लग हुनुहुन्थ्यो । कालिगण्डकीको तिरैतिर हुँदा माथीतिर फर्केर हेर्दा टोपीखस्ने खालका पहाडका चुचुराहरु थिए । घलेम्दी र निलगिरी नदीको किनारै किनार भएर माथी उक्लदा तिनै चुचुराहरुले सुन्दर गाउँहरुलाई थामेर बसेको दृश्य देख्न पाइयो । बाटोमा थुप्रै हाइड्रोपावर थिए । हाम्रो गाडीको यात्रा हुमखोलामा गएर सकियो । यो अवधिमा बेनीबाट अघि बढ्दा ६ सम्म गनेका झरणाहरु गन्नै भूलेछु । ती अग्ला पहाड-चुचुराको त के कुरा गर्नु । अनी ति खोलानाला र यसो तलतिर हेर्दा सातो उड्ने खालका भिरहरुको पनि । यस्तो बाटोमा यात्रा गर्दा हिम्मतको नाममा मेरो साथमा रमिता,विनिता र दिपक सर हुनुहुन्थ्यो ।

 

भिरको यात्रा पनि जोखिम लागेन । भिर थियो र त यात्राको अनुभव अलग थियो । बाटोभरी झरणाहरु थिए र त मन भुलिरहेको थियो । ओढारबाट झरेको पानीले रुझाएको थियो र पो चिसो हावाको झोक्कालाई भूलाएको थियो । ति अग्ला पहाडहरु थिए र त त्यसपछि के…..?  भनेर कौतुहलतालाई बढाइरहेको थियो । यात्रामा मलाई एक पटक पनि आखा झिमिक्क गर्न मन लागेन । मैले आखा झिम्काउदा कुनै दृश्य गुम्छ की भन्ने पिर लाग्यो । यतिबेला म प्रकृतीलाई हेरेर रमाए, डाँडाकाँडा गुञ्जनेगरी कराय । नजानी नजानी गित गाए । यतीबेलाको म  र  सर्जना कार्कीमा आकाशपातालको फरकको अनुभूती मै आफैले गरेको थिए । म, म रहेको थिएन् । म प्रकृतिमा छरिएर रहेको थिए । यो अनुभूती मैले मात्र गरेको थिएन । मेरा साथीहरुको अनुभूती पनि मेरो भन्दा खासै फरक थिएन् । हामी सबैले आफूलाई प्रकृतीमा समाहित गरेका थियौ ।

हुमखोलामा पुगेपछी वरपरको ठाउँ नियाले । एउटा होटेल छ । होटेलको छेउमा ठुलो खोला छ । घरी खोला हेर्छु त घरी मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमानलाई सम्झन्छु । त्यो बेलामा मलाई साच्चिकै जिन्दगी यहिसम्मको रहेछ । बाचे भोलीसँग भेट हुने छ नत्र अन्तिम रात यही हुने छ भन्ने मनमा लागिसकेको थियो । घरमा मम्मीलाई फोन गरे । उहाँले सोध्नुभयो पानी परेको छ ?  मैले भने छैन् । बाटोमा पहिरो झर्ने जस्तो ठाउँहरु छ की छैन् ? हिड्ने र बस्ने ठाउँहरुमा खोला छन् की छैनन् ? मम्मीलाई जवाफमा भने हिड्ने ठाउँ नी सजिलो छ । बस्ने ठाउँमा खोला छैन् । एकदम सुरक्षित ठाउँ छ । केहि चिन्ता निलनु । आफु ढुक्क छैन् तर मम्मीलाई ढुक्क बनाए । हुमखोलामा सबैजना बस्यौ । खाना खायौ र भोलीलाई भेट्ने आसमा सुत्यौ । यात्राको थकानले होला क्यार । यती मिठो निन्द्रा लागेछ की बिउझिदा बिहान भएको थियो । एक पटक आफैलाई हेरे । आफैलाई जिउदो देखेर खुसी लाग्यो । मौसमले पनि चिनेछ क्यारे प्रकृतिप्रेमीहरुलाई । मौसम सफा थियो । मौसमले साथ दिएकोमा सबै जानाले एकअर्कामा खुसी साट्दै ब्रेकफास्ट लियौ र त्याहाँबाट घरमा फोन गरेर २ दिनपछि मात्र सम्पर्कमा आउछौ भनेर जानकारी गराई पैदल यात्रालाई अघि बढायौ । किनकी अब हामी बेसक्याम्प पुगेर त्यही ठाउँमा नफर्काददासम्म फोनले काम गर्दैनथ्यो ।

मिस्त्री खोलाको छेवैछेउ पहाडका आकृती र झरणाका सुन्दर लहराहरुलाई नियाल्दै हामी अघि बढ्यौ । लाग्यो ति झरणाहरु मेरै लागि झरेका हुन् । यी पहाडहरु मेरै लागि उभिएका हुन् । बेस क्याम्प पुगेर फर्किएर आउनेहरु बाटोमा सयौ जनासँग भेट भयो । सबैजनाको अनुहार नियालेको थिए । लखतरान परेको उनिहरुको अवस्था हेरेर कति ठाउँमा म हासेको थिए । मेरा साथीहरुले सोध्नुहुन्थ्यो किन हासेको ? जवाफमा मैले भन्थे भोली फर्कने बेलाको आफ्नै अवस्था सम्झेर हासेको नी । हामी नी भोली यस्तै अवस्थामा फर्कने त होला क्यारे । अघिसम्मअरुलाई हेरेर हासेका हामी फेरी भोलीको आफ्नै अवस्थालाई सम्झेर हास्यौ । फुतफुते झरणामा मनको धोको फेरेर फोटो, भिडियो खिच्यौ ।

भुस्केट मेलामा पुगेर सबै जनाले खाना खायौ । हिडाइको रफ्तार सबैजनाको एकै खालको थिएन् । हामी समुहमा छुट्टिएर हिडेका थियौ । पछाडीको समुह भुस्केट मेलामा पुग्दै गर्दा हामी अगाडीको समुह खाना खाइवरी पञ्चकुण्डसम्मको यात्रालाई अघि बढायौ । पहरामा उम्रिएर लहरा भइ झरेका झरणाहरु, कुहिरोसँग लुकामारी खेल्दै बेलाबेलामा हामीलाई जिस्क्याउने सेता हिमाल, हाम्रो थकानमा प्राण भर्ने बाटो, एकोहोरो मनलाई झस्काउने चिसो सिरेटो, मनको भारीलाई बिसाउने सुन्दर गन्तव्य र यादगार पललाई क्यामेरामा कैद गरिदिने प्रिय मनहरुसँगको त्यो यात्रा । मलाइ लाग्यो हामी हिडेर होइन, घुमेरै त्यो ठाउँमा पुग्यौ ।

जब पञ्चकुण्डमा पुग्यौ, साझको समय आकाशमा जुन तारा चम्किरहेका थिए । जुन ताराको चमकले अन्नपूर्ण, निलगिरी र तिलिचो हिमाल टल्किरहेका थिए । जुनताराको चमक, हिमालको टलक, पञ्चकुण्डको झलक र त्यहाँ पुगेका पदयात्रीहरुको चहलपहलले मलाई छुट्टै संसारमा पुर्याएको थियो । यो पलको अनुभुती नसकिदै दिपक सरले भन्नुभयो, “ल ल छिटो भित्र गएर एक एक वटा कुर्सीमा बसिहाल्नु । सुत्ने ठाउँको टुङ्गो छैन् । अहिले त्यही कुर्सी पनि नपाइएला ।” यती भनेर उहाँले हाम्रो समुहको त्याहाँ पुगेको सबै जनालाई एकएक वटा कुर्सीको व्यवस्था गरिदिनुभयो । टेन्टहरु सबै भरिएका थिए । हलभित्रका कुर्सीहरु भरिएका थिए । भित्रबाहिर गर्नलाई समेत पर्याप्त ठाउँ थिएन् । अब लाग्यो, आजको रात हुमखोलाको मिठो निन्द्रालाई सम्झेर कटाउनुको विकल्प हुने छैन् । पछाडीको समुह आउदै थियो । त्यहाँ पुगेका सबै पदयात्रीहरु आजको रातलाई कसरी कटाउने भन्ने चिन्तामा थिए । त्यही अवस्थामा हाम्रो समुहको २ जना म्यामहरु सार्है गार्हो भएको अवस्थामा पञ्चकुण्ड पुग्नुभयो । तनहुँको रिना म्यामलाई खुट्टाले गाह्रो बनाएको थियो भने बुटवलको म्यामलाई लेक लागेको थियो ।

त्यहाँको होटेलले जसोतसो महिलाहरुको लागि बसाइ व्यवस्थापन गर्यो । ५ जना अटाउने टेन्टमा त्यस रात हामी ९ जना बस्यौ । त्यस रात खुट्टा चिसिदै गर्दा अनुहारबाट पसिना झरेको थियो । हाम्रो समुहसँगै अन्य समुहका केटाहरुले त्यस रात चिसोमा दातले झ्याली बजाउदै रात काट्नुभएको छ । त्यहाँ पर्यटकहरुको ओइरो देख्दा खुसी भएको मन व्यवस्थापनको पाटोमा देखिएको कमजोरी र पदयात्रीहरुले भोग्नुपरेको समस्यालाई लिएर अली चित्त बुझेको थिएन् । जसोतसो रात काटियो । बिहान उठेर टेन्टबाट निस्किदा पहिलो नजर निलगिरीमा पर्यो । त्यसपछि नजरलाई तिलिचो र अन्नपूर्ण हिमालसँगै पञ्चकुण्ड तालतिर दौडाय ।  यो दृश्य रातीमा खुट्टाबाट पसेको चिसो र अनुहारमा निस्किएको पसिनाको औषधी बन्यो । त्यसपछि त अरु सबैलाई बिर्सिसकेको थिए । एक पटक आफैले आफैलाई बिर्सन मन लाग्यो । फेरी सम्झे म नै म रहिन भने यो सुन्दरताको मजा कसरी लुट्नु ?

सबै जना छिटोछिटो तयार भयौ । तातोपानी र चिया पिएर हामी बेसक्याम्पको यात्रामा अघि बढ्यौ । बेस क्याम्पको उचाई ४ हजार १ सय ९० मिटर रहेछ । ३०-४० मिनेट हिडेर डाँडामा चढ्यौ । डाँडामा चढेपछि निलगिरीको नयाँ रुप देखियो । तिलिचो हिमाल लुक्यो । अन्नपूर्णलाई शिरमा राखेर पञ्चकुण्डले छाती फैलायो । सब जना यो सुन्दरलाई मानसपटल र मोबाइल, क्यामेरामा कैद गर्न व्यस्त थिए । म अलमलमा परे  केहि समय बसेर हिमालसँग पिरती गासौं की मोबाइल क्यामेरामा हिमाललाई टासौं । गडडडडडड…………यो आवाजले मलाई झस्कायो । यसो पछाडी फर्केको अन्नपूर्णमा हिमपहिरो झरिरहेको रहेछ । १० मिनेटको फरकमा हिम पहिरो झर्ने गर्थ्यो । रहर त हो, बुटसँगै भएपनि साडी बेरेर हिमाललाई देखाए । नजानेरै भएपनि फनक्क घुम्दै थोरै लजाए । लाग्यो, सायद हिमालले मलाई केहि त याद गर्यो होला ।

साथीहरु रमिता र बिनिताले पनि मगर ड्रेसमा आफुलाई सजाए । दिपक सरलाई फोटो भिडियो खिच्न पठाए । त्यसपछि हामी सबैजना पुरानो बेसक्याम्पमा पुग्यौ । त्याहाँ पुग्दा त झन हिमालसँग नाक जुधाउन पाइयो । धेरै हिमालहरुलाई हेरेको थिए । तर यती नजिकबाट प्रत्यक्ष रुपमा हिमाललाई हेरेको मेरो जीवनमा यो पहिलो अनुभव थियो । हिमाल हेर्यौ । फोटो, भिडियो खिच्यौ । अनी हिमाल हेर्न गएकाहरुलाई पनि हेर्यौ ।

उसो त हामी हिमाल हेर्न मात्र त्याहाँ पुगेका थियनौ । हिमाललाई बचाइराख्ने बिउ रोप्न गएका थियौ । हामीलाई थाहा छ,जलवायु परिवर्तन र यसको कारणले हाम्रो नेपाल भनेर चिनाउने हाम्रा सम्पती र सौन्दर्यतामाथी कती असर परिरहेको छ । यो अहिले सबैतिर बहसको विषय बनेपनि हाम्रा प्राकृतिक सौन्दर्यहरुलाई बचाउन कहाँबाट कसरी र के गर्ने भन्ने कुराको खासै सुरुआत हुन सकिरहेको छैन् । यस्तो अवस्थामा आखिर हामी घुम्छौ । घुमाइलाई उदेश्यमूलक बनाऔं भन्ने हेतुका साथ घुम्न निस्कदा केही न केही उदेश्य बोकेर हामी घुम्न निस्कने गरेका छौ । यसपाली हामीले “जलवायु न्यायको लागि विश्वव्यापी एकताको पहल” भन्ने नारालाई बोकेर जलवायु परिवर्तनको विरुद्धमा सबैलाई एकताबद्ध हुन आह्वान गर्दै बेस क्याम्पमा पुग्यौ । साथै त्याहाँ पुगेर सेतो कपडामा सबैले हस्ताक्षर गरेर जलवायु परिवर्तनको विरुद्धमा एकताका साथ लाग्ने प्रतिबद्धता जनायौ ।

एकातिर जलवायु परिवर्तनका विरुद्धमा आवाजहरु उठ्दै गरेका छन् । अर्कोतिर हाम्रा हिमालहरु काला पत्थरमा परिणत हुदैँ छन् । बेस क्याम्पमै बसेर एकछिन हेरे निलगिरी र तिलिचोसँगै बराबर भएर उभिएका छेउका चुचुरा कुनै समय तिनको नाम पनि हिमाल थियो होला । आजको दिनमा उनिहरुले हिमाल भन्ने आफ्नो पहिचान गुमाइसकेका छन् । निलगिरी र तिलिचो हिउँले टलक्क टल्कदा ती चुचुराहरु कालो भएर ठसक्क ठस्किएका छन् । जलवायु परिवर्तनको विरुद्धमा केही कदम नचाल्ने हो भने केहि वर्षपछी अहिले हिउँले टलक्क टल्किएका हिमालहरु काला पत्थरमा परिणत हुने छन् । अन्नपूर्ण बेसक्याम्प त्यही हिमाल हेर्न पुगेका हामीहरु हिमालमा हिउँ नै रहेन् भने के हेर्न जानु । हामीसँग हिमाल छ र पो हेर्न र देखाउन पाएका छौ । जे कुरालाई हेरिरहेका छौ र देखाइरहेका छौ उसको अस्तित्वलाई बचाइराख्नु हामी सबैको दायित्व हो । आउनुस जलवायु परिवर्तन र यसका असरहरुको विरुद्धमा सबैजनाले एकजुट भएर हातेमालो गरौं ।

एक बिहानभरी बेस क्याम्पमा रमाएका हामी दिउसोको समयमा सबैजना पञ्चकुण्ड झर्यौ । त्यही खाना खायौ । फेरी सबै जना रमाउदै जादा देखिएका दृश्यहरुलाई फर्कदा याद लाउदै भुस्केटमेलामा पुग्यौ । त्यही बास बस्यौ । अर्को दिनको बिहान उठेर सबै जना चिया पिएर हुमखोलामा झर्यौ । बिहानको खाना हुमखोलामा खाएर सबै जना म्याग्दीको परम्परागत कला संस्कृतिसँग रमाउन भन्दै नारच्याङ गाउँमा पुग्यौ । नारच्याङ गाउँमा पुग्दा फरक खालको अनुभूती गर्न पाइयो । गाउँको शिरबाट सबैलाई लोभ्याउदै झरणा झरिरहेको थियो । त्यो झरणाले सम्पूर्ण नारच्याङबासी र यो गाउँमा पुग्ने सबैलाई सितलता प्रदान गर्दै आएको थियो ।

उसै दिन हाम्रो समुहको पदयात्री भरत सुवेदीको जन्मदिन पनि परेको थियो । आधा बाटो कटाउन र आधा दिन कटाउन त हामीलाई उहाँको जन्मदिनले मदत गरिरहेको थियो । त्यस दिनमा सुवेदी सरसँग ह्याप्पी वर्थ डे बाट सुरुआत गरिएको कुराकानी ह्याप्पी वर्थ डे मै गएर टुङ्गिने गरेको थियो । नारच्याङमा होमस्टेमा खाना खाइसकेपछि वडाध्यक्षको पहलमा सिर्जनसिल आमा समुहले गरेको सांस्कृतिक अभिवादनको त कुरै नगरौ । फरक-फरक ठाउँबाट फरक परिवेशमा पुगेका हामीहरुलाई नारच्याङले सोरठी अर्थात पुर्ख्यौली नाँचमार्फत हाम्रो पहिचान यो पनि हो है भनेर भनेको थियो । पुर्ख्यौली गितको सुर, बाजाको ताल, नाँचको चाल अहो! सबै जना नतमस्तक भएर नारच्याङको संस्कृतिलाई हेर्यौ । एक छिन पदयात्री र नारच्याङबासी सारा कुराहरु भूलेर नाच्यौ । साझ अबेर हुँदै थियो । नारच्याङबासीको आत्मियतालाई मनको एक कुनामा राखेर होमस्टेमा फर्केर सुत्यौ ।

अर्को दिन बिहान सबै जना उठ्यौ । नारच्याङमा ब्रेकफास्ट पछि पदयात्राको समिक्षा र प्रमाणपत्र वितरण कार्यक्रममा शरिक भयौ र सबै जना बेनीको लागि निस्कियौ । अब हाम्रो सबैको सँगैको यात्रा बेनीसम्म मात्र थियो । बेनीमा जम्मा भएर ५ दिनको सहयात्रालाई टुङ्ग्याएका थियौ । सोलुखुम्बु, तनहु,चितवन र काठमाडौंको टोलीसँग हामी बेनीबाट छुट्टियौ । रुकुम र बागलुङको टोलीको यात्रा बुर्तिबाङसम्म सँगै भयो ।

ढोरपाटनको साथीहरु गाडीमा जानुभयो । दिलचन भाई र मेरो फेरी बाइकको यात्रा सुरु भयो । बाइकमा समस्या आएको कारण बेनीमा ब्याट्री फेरेर हिडेका हामी हटियामा पुगेर त्यहाँका निवर्तमान वडाध्यक्ष एवम् नेपाली कांग्रेस गलकोटका सभापती बिरजंग सरकोमा बसेर कफी पियौ । उहाँहरु रुकुम पूर्वको चुङ्गुरी बुकी र खाली खोला घुम्ने रहर गर्नुभयो । बिरजंग सर र अर्को एक जना सर हाम्रो यात्रामा गलकोटबाट थपिनुभयो । हामीले यात्रा सुरु गर्दै थियौ । पानी बेस्सरी पर्न थाल्यो । केहि समय पानी रोकिन्छ की भन्दै त्यही बसिराख्यौ । पानी कम भएपछी हामी त्यहाँबाट हिड्यौ ।

यात्रा रमाइलो नै भइराखेको थियो । झमक्क पर्दै थियो । खरबाङबाट केहि समय हिडेपछी बाइकमा फेरी समस्या आयो । बाइक स्टार्ट भएन् । बिरजङ सरलाई खबर गरेपछी उहाँले फेरी पछाडी फर्केर ग्यारेजको मान्छेलाई खरबाङबाट ल्याइदिनुभयो । ग्यारेजको मान्छेले ब्याट्रि चार्ज गर्नुपर्ने बतायो । दिलचन भाई र म फेरी खरबाङ ग्यारेजमा फर्कियौ । एकछिन ब्याट्रि चार्ज गरेर बुर्तिबाङको लागि हिड्यौ । अबको यात्रा हाम्रो सजिलो थिएन् । बाइकको लाइट बाल्दा स्टार्ट बन्द भइहाल्थ्यो । त्यस्को समान त्याहा नपाइने हुदा तत्काल समस्या समाधानको उपाय केही थिएन् । खरबाङबाट दिलचनले चलाएको बाइकलाई मैले मोबाइलको लाइट बालेर बाटो देखाउदै बघि बढ्यौ । जिन्दगिमा पहिलो पटक बाइकलाई मोबाइलको लाइटले बाटो देखाएर रातीको यात्रा गर्नुपरेको अनुभव बटुलियो । बाटोमा कतै बाइकलाई धकेल्नु पनि पर्यो । जसोतसो बुर्तिबाङ पुगेर बास बसियो । बुर्तिबाङमा रुकुम पूर्व र ढोरपाटनका सबै साथीहरुको बसाइ सँगै भयो ।

अर्को दिन बिहान बाइक बनाएर सबै साथीहरुसँग छुट्टिएर हामी बुर्तिबाङबाट हिड्यौ । बिहानीको यात्रा रमाइलो भइरहेको थियो । रुकुम पूर्व र बागलुङो सिमाना पातिहाल्नामा पुग्नुभन्दा ५ किलोमिटर अगाडी नै लोकमार्गको छेउमा हामी ४ जना बसेर कफी र चाउँचाउँ पकाएर खायौ । सिमानामा पुग्दा १२ बजिसकेको थियो । सिमानामा लिन केशव बराइली दाईलाई बोलाएको थिय । हामी सिमाना पुग्दा दाइ पहिल्यै पुगिसक्नुभएको थियो । त्यहाँ पुगेर एकछिन बसेपछि म रुकुमकोट फर्किए । दिलचान भाई बिरजंग सरहरुलाई लिएर पहाडी आगन क्याम्पमा लाग्नुभयो ।

अन्नपूर्ण बेस क्याम्पको यो यात्रामा बिछट्टै खालको अनुभवको संगालो बन्यो । रमिता र विनिताका मनका कुराहरु सुनियो । दिपक भण्डारी (कपिड भ्लग)उर्फ हनी मगरको हनीजस्तै मिठो साथ पाइयो । शिव आले सरको कृषि क्रान्तीलाई पर्यटनसँग जोड्ने अठोटमा ताली बजाइयो । सन्जय श्रेष्ठ र रिना पन्तको सुन्दर जोडीलाई हेरेर मन भुलाइयो । आमुन भाइको मौनता, कुमार भाइको चन्चलता,दिलचन भाई र भरत सरको सालिनता, मिलन सरको भद्र र सुमन सरको लजालुपन स्वभावलाई नजिकबाट बुझियो । ज्यास्मिन बहिनिको सुन्दरता, पुजा र ममताको मित्रता, सुसान्त भाईको उर्जा, ढालेन्द्र सरको मुस्कान, बालधन दाईको जोस, नर्विन सरको उत्साह र रामु सरको जोडीको अडिग अठोट हेरेर म दंग थिए । यस्तै यात्राले गर्दा जोडिएका सबै प्रिय मनहरुसँग फेरी पनि यस्तै खालका यात्राहरुमा जोडिने बाँचाका साथ म छुट्टिएको छु ।

 

अन्नपूर्ण बेस क्याम्प रुकुमकोटबाट गएर रुकुमकोट फर्कन ४ दिन छुट्याए पुग्छ ।

रुकुमकोट-तातोपानी                                        १ दिन

तातोपानी-पञ्चकुण्ड                                       १ दिन

पञ्चकुण्ड-हुमखोला/तातोपानी                          १ दिन

तातोपानी/हुमखोला-रुकुमकोट                          १ दिन

 

अन्नपूर्ण पदमार्गलाई मौरिस हर्जोग पदमार्ग किन भनियो त ?

पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो ।  सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो ।

हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।