रुकुम पूर्व, २ फागुन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय ठाउँ तकसेरा पुग्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहनुभएका प्रचण्ड मतदाता भेटघाटका लागि शनिबार साँझ तकसेरा आइपुग्नुभएको हो।
संयोजक प्रचण्डको स्वागतमा तकसेराका स्थानीयवासी महिला दिदीबहिनीहरूसमेत आफ्ना बालबच्चा बोकेर नाचगान गर्दै सहभागी हुनुभएको छ। स्वागतपछि उपस्थित जनसमुदायलाई संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भइरहेको बताउनुभयो।
रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने उल्लेख गर्दै प्रचण्डले रुकुम क्रान्तिको सुरुआत तथा शान्ति यात्राको निर्णय भएको स्थान भएको स्मरण गर्नुभयो।
संयोजक प्रचण्डले आफ्नो पहलमा संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने बताउनुभयो। उहाँले यसबाट मगर सभ्यताको संरक्षण हुनुका साथै चौतर्फी विकाससमेत हुने विश्वास व्यक्त गर्नुभयो।

