नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताउनुभएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गर्नुभएको छ । “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन । म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।”
उहाँले दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर सो समुदायलाई विशेष अधिकार दिन सकिने बताउनुभयो । यसैगरी उहाँले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं । त्यसको स्तरउन्नति गर्ने । तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,” उहाँले भन्नुभयो। निर्वाचित भएपछि सो सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्ने उहाँको भनाइ छ ।
जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गर्नुभयो । “अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ,” उहाँले थप्नुभयो ।

