आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । अहिले विभिन्न दल र स्वतन्त्र उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् ।
यसै क्रममा माघ २९ गते देखि नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्र रुकुमपूर्वका विभिन्न गाउँ गाउँमा पुगेर मतदातासँग भेटघाट गरिराख्नु भएको छ । जसमा गाउँमा प्रचण्ड पुग्नु हुँदा स्थानीयले भव्य स्वागत गरिराख्नु भएको छ । भव्य स्वागतसँगै स्थानीयले नयाँ र हिमाली जिल्लाको विकास तिव्रगतिमा हुने अपेक्षा समेत राख्ने गरेका छन् । गाउँ गाउँमा मतदाताले प्रचण्ड प्रति उत्साह देखिराख्नु भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका-१२ कोलका सुजन पुनमगरले देशको व्यवस्था परिवर्तन गर्ने नेतृत्वले नयाँ जिल्लाको विकास नयाँ मोडेलमै गर्नु हुने विश्वास व्यक्त गर्नुभयो । पार्टी जुनसुकै आस्थामा भएता पनि जिल्लाको विकासको लागि देशको एक प्रमुख नेतृत्व प्रचण्डलाई अत्यधिक मत दिएर बिजय गर्नु पर्ने पुनमगरको भनाइ रहेको छ ।
यसैगरी भूमे गाउँपालिका-६ का धनकुमारी विकले पनि प्रचण्डलाई नै मत दिनु पर्ने बताउनुभयो । यो जनताको व्यवस्था गणतन्त्र ल्याउने पार्टी र नेतृत्वलाई मत दिएर गणतन्त्र व्यवस्थालाई कार्यान्वयनमा थप बलियो र प्रभावकारी बनाउनु बनाउने अवसर दिनु पर्ने विकले सुनाउनुभयो । जनताको व्यवस्थालाई कमजोर बनाउन विभिन्न शक्ति लागिराखेकाले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई मत दिनु पर्ने उहाँको भनाइ रहेको छ ।
गाउँ गाउँमा पुग्दा स्थानीयले प्रचण्डलाई भव्य स्वागत गरिराख्नु भएको नेकपाका जिल्ला संयोजक कुमारी बराल गौतमले जानकारी दिनुभयो । मतदाताको यो भव्य स्वागतले प्रचण्डले अत्यधिक मत लिएर विजय हुने बरालले दाबी गर्नुभयो । विगत देखि नै आफ्नो पार्टीलाई नै जनताले जिताउदै आउनुभएकोमा यसपटक प्रचण्डलाई पनि अत्यधिक मत दिएर विजय गराउनु हुने माहोल निर्माण भइसकेको उहाँले बताउनुभयो ।
आज मङ्गलबार बिहान सिस्ने-२ नायगाडमा प्रचण्डले जनभेटघाट गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । भने दिउँसो नायगाडमै जनसभालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको संयोजक बरालले बताउनुभयो । त्यसपछि भोलि बुधबार सिस्ने-३,४,५,६,७ र ८ का विभिन्न गाउँमा जनभेटघाट र जनसभा कार्यक्रम रहेको उहाँले बताउनुभयो । प्रचण्डको उपस्थितिमा हुने पहिलो चरणको चुनावी कार्यक्रम माघ ६ गते सकिने बताइएको छ । त्यसपछि जिल्लाका नेताकार्यकर्ताले चुनावी अभियान गरिराख्ने र अर्को चरणमा फेरि प्रचण्ड सहित पुनः चुनावी अभियान गरिने बरालले बताउनुभयो ।

