नेकपाका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका पुष्प कमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । जनभेटघाटको लागि माघ २९ गते रुकुम पूर्वमा आइपुग्नुभएका संयोजक दाहालले २९ गते जिल्लाको भूमे गाउँपालिका-१ लुकुममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जनभेटघाटको सुरुआत गर्नुभएको हो ।

संयोजक दाहालले फागुन १ गते जनयुद्धको आधार इलाका रुकुम पूर्वको ऐतिहासिक गाउँहरु लाबाङ र महतको अवलोकन गर्दै त्याहाँका जनतासँग भेटघाट गर्नुभएको छ । जनयुद्धको बेलामा लाबाङ बाबुराम भट्टराइलाई कारबाही गरिएको ठाउँ हो भने महत त्यतीबेलाका प्रहरी नायव उपरिक्षक ठुले राइलाई नियन्त्रणमा लिइएको ठाउँ हो । माघको २ गते ऐतिहासिक ठाउँ चुनवाङमा जनभेटघाट गर्नुका साथै युद्धकालमा तत्कालिन माओवादी केन्दरको बैठक बसेको ठाउँको अवलोकन गर्नुभएको थियो ।

वि.सं. २०६२ असोजमा चुनबाङमा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै संसदवादी दलहरूसँग सहकार्यको मार्ग प्रशस्त गरेको थियो । उक्त बैठकबाट ९५ सदस्यीय केन्द्रीय समितिलाई घटाएर ३५ सदस्यीय बनाइएको थियो । त्यसैले चुनबाङ बैठकलाई नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा लिइन्छ । चुनवाङ भ्रमणका क्रममा प्रचण्डले बैठक बसेको स्थान, आफू र पत्नी सीता दाहाल बसेको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका घर र कोठाको अवलोकन गर्नुभएको थियो । मतदाता भेटघाट तथा बैठकस्थल निरीक्षणका क्रममा उहाँले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति प्रक्रियातर्फ अघि बढाएको बताउदै रुकुम पूर्व क्रान्तिको सुरुआत भएको र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने ऐतिहासिक जिल्ला भएको उल्लेख गर्नुभयो ।

सोही दिन संयोजक दाहालले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा जनभेटघाट गर्नुभएको थियो । ऐतिहासिक र पर्यटकिय क्षेत्र तकसेरामा जनभेटघाटको क्रममा उहाँले मगर खाम भाषालाई ब्रान्डिङ गर्ने बताउनुभएको थियो । फागुनको ३ गते पुथा उत्तरगंगा गाउँपालिकाको विर्गुम, पिपलटुङ, पद्मी, नयाँ बजार, डिम्मुरगैरा/तातोपानी, मयाङ, हुकाम, मैकोटमा जनभेटघाट गर्नुभएको हो । प्रचण्डले मध्यपहाडी लोकमार्ग र सहिद मार्ग भएर यात्रा गर्दै गर्दा बाटो बाटोमा बाजागाँजा र फूलमाला सहित स्वागत गर्नेहरुको भिड लाग्ने गरेको छ ।

यस्तै फागुन ४ गते पुथा उत्तरगंगा गाउँपालिकाको तुपा, दमचन, माथिल्लो सेरा, तल्लो सेरा, कोल,  नाखा, राङ्सी, जाङ, लगाएतका ठाउँमा मतदाता भेटघाट गर्नुभएका प्रचण्ड साझ हुँदा पैदल यात्रा गरेर सिस्ने गाउँपालिका-२ को नायगाडमा पुग्नुभएको थियो । रातीमा पुथा उत्तरगंगा गाउँपालिकाको जामा बगरबाट आधा घण्टाको पैदल यात्रा गरेर नायगाड पुग्नुभएका प्रचण्डलाई रातीमै बाजागाँजा सहित स्थानीयले भव्य स्वागत गरेका थिए । आज फागुन ५ गते संयोजक प्रचणडले सिस्ने २ नायगाडमा सिस्ने १ र २ नम्बर वडा सहित पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडाका नागरिकहरुसँग नायगाडमै भेटघाट गर्नुभएको छ । नायगाडमा भएको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले क्रान्ती र शान्तीको भूमीमा यहाँको विकासको लागि र देशभरमै परिवर्तनको सन्देश दिन रुकुम पूर्वमा पुगेको बताउनुभएको थियो । रुकुम पूर्वको लागी आफु नौलो नभएको पनि उहाँले बताउनुभएको थियो ।

नायगाडको चुनावी सभालाई सकेर उहाँ पैदल १ घण्टाको यात्रापछी आजै रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आइपुग्नुभएको छ । गएको माघ २९ गतेबाट जनभेटघाटको क्रममा जिल्लाको विभिन्न ठाउँमा पुग्नुभएका प्रचण्डले जिल्लाको विकास र आर्थिक समृद्धि नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । सडक संजाल नपुगेको ठाउँमा सडक विस्तार, सञ्चार र विद्युत सेवाको विस्तारलाई मुख्य प्राथमिकताम राखेर काम गर्ने उहाँले बताउनुभएको छ । आफु रुकुम पूर्वबाट उम्मेद्वार भएर जनभेटघाटमा जादैं गर्दा जनताले आफुबाट धेरै आसा अपेक्षा राखेको र उत्साहित पनि रहेको बताउनुभएको छ ।

प्रचण्ड फागुन ६ गते भोली सम्म चुनावी अभियानमा रुकुम पूर्वमा रहनुहुने छ ।