नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुष्प कमल दाहाल प्रचण्डले रुकुम पूर्वबासी जनताको उत्साह देखेर दंग परेको बताउनुभएको छ । विगत एक साता यता रुकुम पूर्वको विभिन्न ठाउँमा चुनावी अभियानमा जोडिनुभएका संयोजक दाहालले जनताको जोस, जागर र उत्साहले आफूलाई दंग पारेको बताउनुभयो ।

रुकुम पूर्वबाट चुनाव लड्दै गर्दा जिल्लाबासीले आफूबाट विकास र आर्थिक समृद्धिको धेरै आसा राखेको बताउदै संयोजक दाहालले त्यस आसा सँगसँगै क्रान्ती र शान्तीको नायकलाई आफ्नो उम्मेद्वारको रुपमा पाउदा जनताहरु उत्साहित रहेको पाएको संयोजक दाहालले बताउनुभयो । चुनावी अभियानको क्रममा पुथा उत्तरगंगा गाउँपालिकाको मैकोट देखी सिस्ने गाउँपालिकाको धपेसम्म आइपुग्दा बाटोबाटोमा जनताको न्यानो माया र आतिथ्यताले आफुलाई पनि थप उर्जा मिलेको उहाँले बताउनुभयो ।

“मलाई रुकुम पूर्वमा यो सात दिनसम्म रहदा चुनावी अभियानमा समय बिताएको जस्तो लागेन” संयोजक दाहालले भन्नुभयो,  “कतै विजय र्यालीमा आएको जस्तो, कसैको जन्तीमा गएको जस्तो महसुस गरे । जनताको बिचमा रहदा समय बितेको पत्तो पाइन ।”  जनतासँगै नाच्दै र उनिहरुको जीवनशैलीलाई नियाल्दै, भेटघाट गर्दै र जनताका आसा, अपेक्षाहरु संकलन गर्दै यो चरणको चुनावी अभियानलाई सम्पन्न गरेको उहाँको भनाई छ । संयोजक दाहाल जिल्लाको विभिन्न ठाउँमा जादा जहाँ जस्तो संस्कार र संस्कृति छ त्यसैमा भिजेर नाच्नुभएको थियो ।

आज बुधबार यो चरणको चुनावी अभियानको अन्तिम सभा सिस्ने गाउँपालिका-८ को धपेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक दाहालले रुकुम पूर्वको विभिन्न ठाउँहरुमा पुग्दा त्याहाँका नागरिकहरुले मागपत्र बुझाएको बताउदै ती मागपत्रहरुलाई तिन तहकै सरकारबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुख्य गरी यहाँका अधिकांस नागरिकहरुको माग सडक संजाल नपुगेको ठाउँमा सडक पुर्याउने, पुल निर्माण गर्ने, ग्रामिण सडकहरुलाई व्यवस्थित गर्ने र सहिदमार्गलाई पिच गर्ने रहेको पाएको संयोजक दाहालले बताउनुभयो । अहिले रुकुम पूर्वलाई सुगम बनाएको मध्यपहाडी लोकमार्ग आफैले बनाएको र सहिद मार्ग पनि आफैले बनाएको बताउदै संयोजक दाहालले चुनाव जितेको पाँच वर्षे कार्यकालमा मध्य पहाडी लोकमार्गलाई थप व्यवस्थित बनाउने, सहिदमार्गलाई शहरतारा हुँदै चाइनासम्म जोड्ने र पिच गर्ने, जिल्लाको ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा संचालन हुने सडक निर्माणको कुरालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता संयोजक दाहालले गर्नुभएको छ ।

यस जिल्लाका नागरिकहरुको माया र उत्साहले आफूमा पैदा गरेको थप उर्जा सहित अब देश   दौडाहमा लाग्ने संयोजक दाहालले बताउनुभयो । रुकुम पूर्वमा एक साताको चुनावी अभियानलाई सकेर आजै प्रचण्ड रुकुम पश्चिम जानुभएको छ । उहाँ बिहिबार काठमाडौं फर्कनुहुने छ ।