रुकुम पूर्व, १० फाल्गुण ।

लुम्बिनी प्रदेशकाे एक मात्र हिमाली ​रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा एउटा यस्तो गाउँ छ, जहाँको परिचय भूगोलले मात्र होइन, एउटा विशिष्ट सामाजिक र राजनीतिक चरित्रले दिने गर्छ। त्यो गाउँ हो। छिपखोला। यहाँ पुग्ने जोकोहीलाई लाग्छ, यो गाउँ कुनै आधुनिक बस्ती मात्र होइन, बरु एउटा जीवित ‘राजनीतिक संग्रहालय’ हो, जहाँ दशकौँदेखि ‘एउटै थर र एउटै विचार’ को अविचलित विरासत कायम छ।

​छिपखोलाको सबैभन्दा ठूलो विशेषता यहाँको जातीय स्वरूप हो। यो गाउँमा पुन मगर समुदाय बाहेक अन्य कुनै जातिको बसोबास छैन। गाउँका प्रत्येक घरधुरी एउटै थरका मानिसहरूले भरिएका छन्, जसका कारण छिमेकी बस्तीहरूमा यसलाई ‘पुन गाउँ’ भनेर चिनिन्छ। यहाँको सामाजिक संरचना यति कसिलो छ कि रगतको नाता र राजनीतिक आस्था यहाँ एकै सिक्काका दुई पाटा बनेका छन्।

​कम्युनको त्यो बिर्सिनसक्नु अभ्यास

​नेपाली राजनीतिक इतिहासमा छिपखोलाको नाम ‘बलिदान जन–कम्युन’ सँग अभिन्न रूपमा जोडिएको छ। २०६१ भदौ २५ गते तत्कालीन विद्रोही माओवादीले यहाँ सामूहिक जीवन पद्धतिको एउटा प्रयोग सुरु गरेको थियो। सुरुमा ६ र पछि १० परिवारले आफ्नो सम्पूर्ण निजी सम्पत्ति पार्टीकरण गरेर ‘साझा काम, साझा भान्छा र साझा आम्दानी’ को अवधारणामा जीवन बिताएका थिए।

​निजी स्वामित्वको अन्त्य गरी सामूहिक श्रममा विश्वास गर्ने त्यो अभ्यास २०६८ सालसम्म चल्यो। आज त्यो कम्युन त इतिहास बनिसक्यो, तर त्यसको जगमा उभिएको ‘सहिद स्मृति पार्क’ ले गाउँको संघर्षपूर्ण विगतलाई अझै पनि ताजा बनाइराखेको छ। साविकका प्वाङ, पोखरा र पिपल गाविसमा राज्यपक्षबाट ज्यान गुमाएकाहरूको नामाङ्कित स्तम्भले यो गाउँको विद्रोही चेतलाई प्रतिविम्बित गर्छ।

​विद्रोहको त्यो कालो दिन

​२०५२ साल फागुन २९ गते छिपखोलामा घटेको एउटा दुःखद घटनाले गाउँको राजनीतिक दिशा नै बदलिदियो। प्रहरीद्वारा दुई सर्वसाधारणको हत्या भएपछि आक्रोशित बनेको यो गाउँले राज्यसत्ता विरुद्धको विद्रोहलाई आफ्नो गन्तव्य बनायो। विकट भौगोलिक अवस्थितिका कारण तत्कालीन माओवादीका लागि यो सुरक्षित ‘सेल्टर’ मात्र बनेन, बरु एउटा बलियो आधार इलाकाका रूपमा स्थापित भयो।

​यो दुर्गम बस्तीले देशको नीति निर्माण तहमा पुग्ने प्रभावशाली व्यक्तित्वहरू पनि जन्माएको छ। पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनको यो जन्मथलो हो। २०७० को संविधानसभा सदस्य हुँदै २०७२ मा मन्त्री बनेका पुन र उनकी जीवनसंगिनी कमला रोका (पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य) को राजनीतिक उचाइले छिपखोलालाई राष्ट्रिय चर्चाको केन्द्रमा राखेको छ।

​विचारको ‘लालकिल्ला’

​लोकतन्त्रमा बहुदलीय प्रतिस्पर्धा सामान्य मानिए पनि छिपखोलामा भने अन्य दलको उपस्थिति ‘शून्य’ प्रायः छ। यहाँ राजनीति केवल चुनावी एजेन्डा होइन, बरु पुस्तादेखि पुस्तासम्म सरेको एउटा दृढ विचार हो। अन्य दलका उम्मेदवारहरू कहिलेकाहीँ भोट माग्न त पुग्छन्, तर स्थानीयको एउटै जवाफ हुन्छ। “यो ऐतिहासिक गाउँ हो, यहाँ गणेशमानको विचार र सहिदको सपना बाहेक अरू केही चल्दैन।” ​एउटै थर, एउटै समुदाय र एउटै राजनीतिक धार बोकेको छिपखोला आज पनि आफ्नो फरक पहिचानसहित पहाडका खोँचहरूमा गर्वका साथ ठिङ्ग उभिएको छ।