रुकुम पूर्वको पहिलो सामुदायिक रेडियो, रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आजबाट आफ्नो प्रशारण तथा प्रकाशन यात्राको छैटौं वर्षमा प्रवेश गरेको छ । सदरमुकाम रुकुमकोटबाट प्रशारण तथा अनलाइन प्रकाशनमा रहेको रेडियोले पाँच वर्ष अगाडि गणतन्त्र दिवस अर्थात आजकै दिन आफ्नो प्रशारण तथा प्रकाशन यात्रा सुरु गरेको थियो ।
पूर्वी रुकुम बहुउद्देश्यीय समाज विकास केन्द्रद्वारा २०७६ साल जेठ १५ गतेबाट रेडियो संचालनमा आएको थियो । साविकको रुकुम जिल्ला टुक्रिएर बनेको नयाँ जिल्ला रुकुम पूर्वको सञ्चार क्षेत्रमा रेडियोले पुर्याएको योगदान महत्वपूर्ण छ ।
रेडियो पाँचौ वर्ष पार गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष लालबहादुर बिसी ( प्रभात ) ले एक प्रेस वक्तव्य जारी गर्दै रेडियो स्थापना तथा प्रसारण देखि हालसम्म निरन्तर सहयोग गर्ने स्थानीय तह, संघ, प्रदेश सरकार, विज्ञापनदाता, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाहरू, आम श्रोता, पाठक, दर्शकहरु, रेडियोमा कार्यरत सबै कर्मचारी लगायत शुभचिन्तक तथा शुुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ ।
जिल्लामा रहेका तीन स्थानीय सरकार सहित छिमेकी जिल्लाका स्थानीय तहहरुसंग हातेमालो गर्दै रेडियोले आफ्नो तर्फबाट सत्य तथ्य सूचना तथा विचार प्रवाह गरी सुशासन युक्त समाज निर्माणका लागि राम्रो कामको प्रचार प्रसार र गलत कामको खबरदारी गर्दै सामाजिक परिवर्तनमा ठूलो योगदान पुर्याएक्काे र यो अभियान अवका दिनमा थप बलियो बनाउने र सुखी नेपाली समृद्ध नेपाल सरकारकाे मुल नारा पुरा गर्न रेडियोले हरबखत भुमिका खेल्ने अध्यक्ष बिसीले जानकारी गराउनुभएको छ ।
यसका साथै मौलिक कला संस्कृतिको जगेर्ना, सचेतनामुलक सूचनाहरु सम्प्रेषण प्रसारण तथा प्रकाशन गरी रेडियोको माध्यमबाट शिक्षा स्वास्थ्यको विकास, गाउँठाउँमा दबिएर रहेका वर्गहरूको आवाजलाई बुलन्द गर्दै आएको उहाँको भनाई छ । जिल्लाको समग्र विकासका लागि रेडियो पूर्वी रुकुमको अहम भुमिका रहेको र अझैपनि अग्रगामी चेतनाको आवाज बनेर समाज रुपान्तरणमा रेडियोको प्रसारण तथा प्रकाशन सेवा निरन्तर हुने विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै रेडियोले वार्षिकोत्सबकाे अवसरमा यसपटक पश्चिम रुकुम र बाग्लुङ जिल्लाकाे सिमानामा आगन्तुकहरुलाई स्वागत र जिल्ला बाहिरीनेहरुलाई शुभ यात्रा लेखिएका साइनबोर्ड राखिने रेडियोका स्टेशन म्यानेजर बसन्त बाँठा मगरले जानकारी दिनुभयो ।

