“इतिहास बुझ्न नसक्नेसँग विवेक र वर्तमान ठम्याउन नसक्नेसँग हृदय अभाव भएको नेतृत्वले सही मार्गदर्शन गर्न असमर्थ हुन्छ ।”

२०३६/०३७ सालतिर रुकुमकोट र थवाङमा चरम सैनिक अप्रेसन भएको थियो । कारण थियो, ‘निर्दल’ की ‘बहुदल’ भन्ने मतदानमा शुन्य मत या नगन्य मत खसेर पञ्चायत व्यवस्थाप्रति अस्विकार गरिएको थियो । निरकुंश पञ्चायती व्यवस्थाले यी गाउँहरुमा अ. त. (अराष्ट्रिय तत्व) बस्ने गाउँ भनेर त्यही अनुसारको व्यवहार गर्दै आएको थियो । २०३०/०३१ सालमा रुकुमकोटमा रहेको सदरमुकाम मुसिकोटमा सार्ने राजाको हुकुम प्रमाङ्गी निर्णयका कारण निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध सचेत युवाहरुले संगठित विद्रोह गरिएको समय थियो । कम्यूनिष्ट पार्टीको संगठनद्धारा गरिएको व्यवस्था विरुद्धको गतिविधि त त्यो थियो नै । तर कदम कदाचित प्रहरी सेनाबाट गिरफ्तार भइहालेमा व्यक्तिगत जिम्मेवारी लिने भनेर माथिल्लो कमिटीले निर्देशन दिएको रहेछ । किनकी संगठित विद्रोह देखिएमा ठुलो राज्य आतंक हुने र सांगठनिक क्षती हुने आकलन गरीएको कारण त्यस्तो खालको निर्देशन दिइएको रहेछ ।

जनता बिनाको नेतृत्व अलगावमा पर्ने र नेतृत्व बिनाको जनता दिशा बिहिन हुनु स्वभाविक थियो नै । एकातिर १२ वर्ष घरदैलोमा बसेको सदरमुकाम अन्यत्र सारिएको पिडा र अर्कोतिर निरकुंश पञ्चायती व्यवस्थाका सैनिक अप्रेसन पश्चात चरम दमन र यातना राज्यको दोहोरो मारमा परेका जनता अत्यन्त आक्रान्त थिए । यसै समयको सेरोफरेरोमा तत्कालिन मसाल पार्टीका केन्द्रिय सदस्य क. विश्वास (हालका क. प्रचण्ड) पार्टी कामको दौरानमा रुकुमकोट पुग्नुभएको रहेछ । अलगथलग रहेको संगठन, युवाहरुको भागाभाग, जेल, तारिख खेप्दै गरेका युवा र आतङ्कित समुदायका कारण स्तब्ध रुकुमकोटबासी जनताका केही प्रतिनिधीसँग भूमिगत रुपमा बसेर बस्तुस्थिती बुझ्ने क्रममा क. विश्वासले समस्या के हो र समाधान के हो नबुझ्ने कुरा भएन् । हो, त्यतीबेलै देखी यो रुकुम पूर्वका समुदायको शासकीय उत्पिडनको समस्या हो र यही व्यवस्था भित्रैबाट मात्र समस्याको समाधान सम्भव छैन् भन्ने कुराको गहिरो बोध गराउदै सिंगो व्यवस्था विरुद्ध सचेत र संगठित रुपमा दिर्घकालिन संघर्षको बाटो बारे सिलसिलेवार प्रशिक्षण प्रदान गरेर केही हदसम्म मलम लगाउदै आश्वस्थ पारेको कुरा इतिहासमा पाइन्छ । उत्पिडित क्षेत्र, जाती, भाषाको मुक्तीको लागि संगठित हुन र योजनाबद्ध संघर्षमा लाग्न प्रशिक्षण र निर्देशन दिदैं छोटो बसाइ पश्चात क. विश्वास त्यहाबाट हिड्नुभएको रहेछ ।

उनै क. विश्वास २०४६ सालदेखी मशालको महामन्त्री हुदैं माओवादीको अध्यक्ष क.प्रचण्ड बन्नुभयो । २०४८ सालमा वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालबाट चुनावमा सहभागी हुदैं प्रतिनिधि सभा संसदमा एक जना सांसद खड्ग बहादुर बुढालाई जिताउन सफलता मिलेको थियो । साथै स्थानीय चुनावमा पनि शोभा/रुकुमकोट गाविस लगाएत रुकुम पूर्वका धेरै गाविसमा जनमोर्चाले जितेको थियो । मशाल माओवादी हुन पुग्यो भने वैधानिक जनमोर्चा पनि माओवादीकै वैधानिक मोर्चाको रुपमा क्रियाशिल रह्यो । २०५२ देखी दिर्घकालिन जनयुद्धको बाटोमा अगाडी बढिसकेपछिका घट्नाक्रमका बारे पाठक वृन्द जानकार नै हुनुहुन्छ ।

२०३८/०३९ सालतिर उनै क. विश्वास प्रचण्ड हुँदैं जनयुद्धलाई अन्तत तार्किक निष्कर्षमा पुर्याउदै गर्दा नेपालको संविधान २०७२ जारी गर्ने क्रममा देशको मानचित्र नै बदलिएको-१४ अञ्चल ७ प्रदेश, ७५ जिल्ला-७७ जिल्ला, ४ हजार गाविस/नगरपालिका, ७ सय ५३ स्थानीय तहमा परिणत भए । यो प्रक्रिया सामान्य र चानचुने परिवर्तन थिएन् । एक युग बदल्ने दावानल थियो । थपिएका २ जिल्लामा रुकुम पूर्व र नवलपरासी सुस्ता पूर्व यी दुई जिल्ला प्रचण्डका निरन्तरका कर्मथलो हुन् । यहाँ क. प्रचण्डको भावना, विचार, राजनीति, योजना, पसिना भिजेको छ । यहाँ जस्तै अनेत्रका केही जिल्लाहरुमा पनि भाषिक, जातिय, क्षेत्रिय उत्पिडनलाई समाधान गर्न अलग्गै इकाई जिल्लाको प्रस्ताव नगरिएको होइन् । तर स्थानीय जनता र नेताहरुको निहित स्वार्थ र असन्तुष्टिका कारण मूर्त रुप लिन सकेन । तर रुकुम पूर्व र नवलपुर जिल्ला बन्नुमा क. प्रचण्डको विचार भावना जोडिएको कर्मथलो भएको कारण सम्भव भएको हो । अमुख जिल्ला अखण्ड भनेर आन्दोलन भएका र गरेको कुरा छिपेको छैन् । भलई अहिले आएर उक्त निर्णयको अपनत्व लिन उखरमाउलो दौडधूप र निर्लज्ज अभिव्यक्ती आइरहेका छन् । तरपनि फेरी दाहोर्याउ इतिहास नबुझ्नेसँग विवेक र वर्तमान नबुझ्नेसँग हृदय नभएको नेतृत्व र अभिभावकबाट पूर्ण आसा गर्न सकिदैन् । त्यसैले असली विवेक प्रयोग गर्ने समय आएको छ ।

स्मरणिय छ की अहिलेको जिल्लाको सदरमुकाम सम्बन्धी नेपाल सरकारको पछिल्लो निर्णय विरुद्ध असन्तुष्टि सहित केही व्यक्तीहरु अदालतमा पनि पुग्नुभएको छ । यी समस्या समाधान गर्नको लागि पनि जिल्लाको जननीले नै जित्नु आवश्यक छ । एउटा वैज्ञानिक कुरा जसको नीति उसैको नेतृत्व हुनुपर्दछ । संघिय लोकतान्त्रिक गणतन्त्र क. प्रचण्डले नेतृत्व गरेको दलको एजेण्डा हो । तर यी एजेण्डा आन्दोलनको दवावमा स्विकार गर्न आइपुगेका शक्तिहरु कार्यान्वयनको चरणमा पुग्दा इमानदार नभएको तितो यथार्थ हाम्रो सामु छ । राज्य पूनरसंरचना भएको ८ वर्षसम्म पनि निजामती सेवा नियमावलि , शिक्षा ऐन, प्रहरी ऐन, स्वास्थ्य ऐन लगाएत महत्वपूरण ऐनहरु बनाउन नसक्नु अझ षडयन्त्रपूर्ण ढंगले विद्येयक तुहाउन खोज्नु नेतृत्वको बेइमानी देखिन्छ । बाध्यात्मक रुपमा एजेण्डा स्विकार गरेर आएका दलका नेताको नेतृत्वको कारण समस्या भइरहेका छन् । यो जिल्लाको समस्याको सवालमा पनि सुरु देखी इमादार भइदिएको भए समाधान भइसकेको हुने थियो । यो हाम्रो पार्टीको समस्या नभइ माओवादी पार्टी भित्रको समस्या हो र माओवादीहरु आपसमा भिडोन र सिङ फुकालोन अनी समस्या समाधान गरौला भनेर अन्य दलका शिर्ष भनिने नेताहरुको नियतको कारण जनतामा केही हदसम्म मनोविज्ञान विकेन्द्रित गराउन सफल भएका छन् । तर अब धैर्यताको समय सकिसकेको छ । जिल्लाको जन्मदाता जननी आफै प्रतिनिधि भएर समस्या समाधान गर्ने उपयुक्त अवसर आएको छ । त्यसैले वर्तमानलाई बुझ्ने क्षमता भएका र खुला हृदय भएका आदरणीय जनसमुदायले जननीलाई विजयी गराएर विवेक र हृदयको उच्च प्रदर्शन गर्ने असली समय आएको छ ।

उपरोक्त केन्द्रिय दायित्व बाहेक मध्यपहाडी लोकमार्गले ल्याएको जीवनस्तर परिवर्तन, केही वडा बाहेक टोलटोलमा पुगेको यातायात पूर्वाधार विकास, घर घरमा इन्टरनेट, हातहातमा मोबाइल सहित संचार क्षेत्रमा ल्याएको संचार क्रान्ती, २२ घण्टासम्मको लोडसेडिङको कारण अन्धकार भएको देशलाई लोडसेडिङ मुक्त बनाउदैं उर्जा क्रान्ती, समाजिक सुरक्षा कोष कार्यक्रम मार्फत निम्न स्तरका श्रमिकका लागि कल्यानकारी योजना, सुशासनको क्षेत्रमा भुटानी शरणार्थी काण्ड र ठुला भ्रष्टाचार काण्डका दोषी उपर गरिएको कारबाही लगाएत लोकप्रिय कार्यक्रमको श्रेय क. प्रचण्ड नेतृत्वको सरकारलाई दिउ । त्यतीमात्र होइन पछिल्लो जेन्जी आन्दोलनबाट उत्पन्न राष्ट्रिय राजनीतिक संकट समाधान गर्न अग्रपङ्तिमा रहेर खेलेको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । निर्वाचन पश्चात पनि देशका जल्दाबल्दा राजनीतिक समस्या समाधान गर्न आन्दोलनले गलहत्याइएका र नसचिएका नेताहरुबाट सम्भव छैन् । फेरीपनि अनुभवी, परिवर्तनकारी, प्रगतिशिल- मुद्धामा लचक तर देशभक्ती भावमा दृढ क. प्रचण्डको अपरिहार्य आवश्यकता देशले बोध गरेको छ । अत: आत्मसाची राख्दै हृदयदेखी स्विकार गरेर क. प्रचण्डको विजयी यात्रा सुनिश्चित गर्न विवेको प्रयोग गरौ । अब केही दिन मात्र बाकी ।

धन्यवाद ।

लेखक: आर. के. विवश