नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न आर्थिक युद्धको झण्डा बोक्ने बताउनुभएको छ । ३० औ जनयुद्ध दिवसका अवसरमा आज रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफूहरु अझै क्रान्तिको प्रक्रियामा रहेको बताउनुभएको हो । उहाले क्रान्तिको स्वरुप फेरिएकाले अब उत्पादन र आर्थिक क्रान्तिमा लाग्ने बेला भएको बताउनुभएको छ ।
उहाले भन्नुभएको छ, ‘युद्ध जारी छ । तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ । उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ । भ्रष्टाचारविरुद्ध हुनेछ, पारदर्शिताका लागि हुनेछ । म त्यो नयाँ युद्ध र उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा बोक्न फेरि एकचोटि तपाईहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु ।’ उहाले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
उहाले भन्नुभएको छ, ‘थोरै विद्यार्थी र धेरै विद्यालय भन्दा ‘हब स्कुल’ को अवधारणा अनुसार आवासीय सुविधा तथा दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता गर्छु । रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्छु ।’
मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावना अनुसार मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्राण्डिङ गर्न पहल गर्ने प्रचण्डको दाबी छ । चुनवाङ बैठकस्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यको रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटकलाई आकर्षित गरिने समेत संयोजक प्रचण्डको भनाई छ । ‘लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अग्र्यानिक जिल्लासम्बन्धी आवश्यक कानुन, नीति, निर्माण गरिनेछ र प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा शहरका डिपार्टमेन्टल स्टोरसम्म पु¥याइने छ । देशकै गुणस्तरीय टिमुरलाई ब्राण्डिङ र स्याउ, सुन्तला, कागती लगायतका फलफूल र अग्र्यानिक तरकारी र अन्य बालीहरूको बजारीकरण गरिनेछ ।’ उहाले भन्नुभएको छ ।
उहाले जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका पक्षमा भन्नेका बीच यो चुनाव हुन लागेको बताउनुभएको छ ।।

