फागुन १, रुकुम पूर्व
नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुम पूर्व आइपुग्नुभएको छ ।
२०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दसवर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ । रुकुमपूर्व जनयुद्धको उपलब्धी संघीयतापछि बनेको कान्छो जिल्ला हो । प्रचण्ड आफ्नो नेतृत्वको जनयुद्धको उपलब्धिमध्यको संघीयताले जन्माएको रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।
भूमे गाउँपालिका –२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपा संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्नुहुने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी, रुकुमले जनाएको छ । रुकुम पूर्वमा २ सय ५२ जना सहिद छन् ।
क्रान्ति र शान्ति सुरुआत गर्ने रुकुम
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उदेश्यका साथ तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमया गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो ।
जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायतका जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुम पूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरुमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।
२०५३ वैशाख २३ मा उपल्लो सेराको छेराबाङ्गामा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलो पटक एम्बुस धरापमा पारेको थियो । २०५४ माघ १६ गते क्यूबाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलो पटक थ्रीनट राइफल कब्जा गरेको थियो ।
माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जाका गर्नुका साथै प्रहरी नायव उपरिक्षक ठुले राईसहितका प्रहरी जवानहरुलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । माओवादीले आफ्ना शीर्ष नेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । २०५७ चैत्रमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र ८ छापामगर गरी ४० जनाको ज्यान गएको थियो ।
२०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटव्यूरो बैठकले डा. बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । २०६२ असोजमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो । माओवादीको चुनबाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा ७ राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हनुका साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भएको शान्ति स्थापना भएको थियो ।
क्रान्ति र शान्ति स्थापनाको सुरुआत भएको रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।
आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायव उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महत गाउँ र बाबुराम भट्टराईलाई कारबाही गर्ने गरी बैठक बसेको लाबाङ गाउँको भ्रमण गर्नुहुनेछ । उहाँले ती गाउँमा जनभेटघाट गर्नुहुनेछ ।
प्रचण्ड आजै चुनबाङ पुग्नुहुनेछ ।

