“सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ” भन्ने मूल नाराका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पुथा उत्तरगंगा गाउँपालिका स्तरीय युवा भेला सम्पन्न भएको छ । सोमबार पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा आयोजित उक्त भेला युवा सुरक्षा तथा युवा परिचालन समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य सुबोधराज सेर्पालीको अध्यक्षतामा सम्पन्न भएको हो ।
भेलाका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले देश आज गम्भीर राजनीतिक मोडमा उभिएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा युवाहरूको सक्रिय र संगठित भूमिका बिना परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै क्रान्तिकारी युवाशक्ति नै राजनीतिक, सामाजिक तथा वैचारिक परिवर्तनको प्रमुख संवाहक भएको स्पष्ट पार्नुभएको छ ।
मुख्य सचिव पुनले संविधान, गणतन्त्र र संघीयताजस्ता जनताको संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । “यो निर्वाचन केवल सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्र होइन, संविधान जोगाउन, देशलाई राजनीतिक निकास दिन र जेन–जी पुस्ताका मागलाई संस्थागत गर्नका लागि हो,” उहाँले भन्नुभएको छ ।
उहाँले पार्टी नेतृत्व युवाको भावना, चाहना र आकांक्षालाई आत्मसात् गर्दै अघि बढिरहेको उल्लेख गर्नुभएको छ । युवाहरूलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा सुदृढ र व्यवहारिक रूपमा जिम्मेवार बन्न आग्रह गर्दै उहाँले आगामी निर्वाचनमा युवाहरूले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका केन्द्रीय सदस्यहरू रवी बुढा (निर्माण), सुनिता बुढा (समानुपातिक उम्मेदवार), डिलु बुढा (लुम्बिनी प्रदेश सभा सदस्य), पार्टीका लुम्बिनी प्रदेश सदस्य जीवन केसी, पार्टीका पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष संगम रोका (विकल्प), वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनबहादुर बुढाथोकी (विद्रोही), वाइसीएलका केन्द्रीय सदस्य टिकासाइ घर्ती मगर, वाइसीएलका लुम्बीनी प्रदेश सह–सचिव सगरमाथा खत्री, वाइसीएलका लुम्बीनी प्रदेश सदस्य धनिसाइ घर्ती मगर, वाइसीएलका जिल्ला अध्यक्ष नामेन्द्र सुनार, वाइसीएलका पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष सुक्रराज बि.क. लगायत पार्टीका नेता तथा विभिन्न जनसंगठनका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
युवा भेलामा सहभागी नेताहरुले मुलुकको वर्तमान राजनीतिक अवस्था, युवाको भूमिका, पार्टी संगठन सुदृढीकरण तथा आगामी निर्वाचनमा युवाहरूको जिम्मेवारीका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले पार्टीको नीति, विचार र कार्यक्रमलाई गाउँ–गाउँ, टोल–टोलसम्म पुर्याउँदै जनतासँग प्रत्यक्ष जोडिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
युवा भेला कार्यक्रमको सञ्चालन युवा सुरक्षा तथा युवा परिचालन समितिका सह–संयोजक तथा पार्टीका केन्द्रीय सदस्य केशव रावलले गर्नुभएको थियो । उत्साहपूर्ण सहभागिता र राजनीतिक प्रतिबद्धतासहित भेला सफलतापूर्वक सम्पन्न भएको युवा सुरक्षा तथा युवा परिचालन समितिका सह–संयोजक तथा पार्टीका केन्द्रीय सदस्य केशव रावलले जानकारी दिनुभएको छ ।।

