रुकुम पूर्व,  फागुन १

रुकुम पूर्वका नागरिक समक्ष नेकपाका संयोजक एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प पमल दाहाल प्रचणडले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ । विगतमा क्रान्ती र शान्तीको बाटो एकै साथ देखाएको यस रुकुम पूर्वले अब देशलाई विकास र समृद्धिको बाटो देखाउनुपर्ने बताउदै संयोजक दाहालले त्यसका निम्ती आफ्ना प्रतिबद्धताहरुले सहयोग गर्ने बताउनुभयो ।

आज रुकुम पूर्वमा आयोजना गरिएको सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले विस्तृत शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता हुनुको नाताले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको सम्मान, तिनका परिवारका लागि राहत र परिपूरणका कार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउनु नै आफ्नो पहिलो कर्तव्य रहेको बताउनुभयो । द्वन्द्वकालीन मुद्दाहरूको राजनीतिक तथा कानुनी निरूपण गरी शान्तिलाई दिगो बनाउन, रगतले लेखिएको सविधानको रक्षा गर्दै संघीयतालाई अझ मजबुत बनाउने र मधेसी, जनजाति, दलित तथा मगर समुदायको स्वायत्तताका लागि आवश्यक संविधान संशोधनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता संयोजक दाहालले गर्नुभएको छ ।

यस्तै भारतको कोइलाबास देखी चिनको तिब्बत जोड्ने सहिदमार्ग, थबाङ-रोल्पा-महत-काक्री-तक-हुकाम-मैकोट-दुले हुँदै शहरतारा डोल्पा सडक, प्रदेश राजधानी जोड्ने दुइखोली-रोल्पा-चुनबाङ-रुकुमकोट-सिस्ने-डोल्पा सडकखण्डलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा पूर्णता दिने प्रतिबद्धता संयोजाक दाहालले जनाउनुभएको छ । जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा सञ्चालन हुने गरी पक्की सडक संजाल विस्तार गर्ने, थोरै विद्यार्थी र धेरै विद्यालय भन्दा हव  स्कुलको अवधारणा अनुसार आवासिय सुविधा तथा दक्ष शिक्षक सहितका विद्यालय स्थापना गरि हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने र यसको लागि नीति निर्माण गर्ने कार्यलाई संयोजक दाहालले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गर्नुभएको छ ।

रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने,  संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने,  ऐतिहासिक चुनवाङ बैठक स्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका अध्येता र पर्यटकलाई आकर्षित गर्ने,  लुम्बिनी प्रदेश सरकारले घोषित अर्गानिक जिल्ला सम्बन्धी आवश्यक कानुन, नीति र नियम निर्माण गर्ने, प्रमाणीकरण (Certification) तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई ‘प्रिमियम ब्रान्ड’का रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याउने र देशकै गुणस्तरीय टिमुरलाई ब्राण्डिङ र स्याउ , सुन्तला, कागती लगायतका फल फूल, अर्गानीक तरकारी र अन्न वालीहरुको बजारीकरणको व्यवस्था गर्ने प्रतिबद्धता संयोजक दाहालले गर्नुभयो ।

सामान्य उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न भूगोलको जटिलतालाई ध्यानमा राखी कम्तीमा जिल्ला अस्पतालमा २४ सै घण्टा विशेषज्ञ डाक्टर तथा आधुनिक प्रयोगशालाको व्यवस्था गर्ने, राज्यका हरेक तहमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्ने, पहुँच नभएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सामाजिक न्यायमा आधारित विकास मोडल लागू गर्ने, नेपालको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै छिमेकी तथा अन्य राष्ट्रहरूसँग सन्तुलित र पञ्चशीलमा आधारित सम्बन्ध कायम गर्ने, राष्ट्रिय हित र स्वाधीनतालाई सर्वोपरी ठानी देशको सार्वभौमसत्ताको रक्षाका लागि प्रतिबद्ध रहने कुरा उहाँले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

हिजो बन्दुक बोकेर व्यवस्था फेर्न लडेको बताउदै संयोजक दाहालले आज विकासका औजार बोकेर अवस्था फेर्न रुकुमको माटोमा उम्मेद्वारको रुपमा उभिएको उहाँले बताउनुभयो । आजको यो लडाइँ रुकुमको समृद्धि, जनताको मुस्कान र सिंगो राष्ट्रको उज्ज्वल भविष्यका लागि रहेको संयोजक दाहालको भनाई छ ।