रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा होलीकै दिन अपराहन्न भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकल ४:३० मा दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएको थियो । अस्पतालले गिरीलाई मृत घोषणा गरेको थियो । उहाँको शव अहिले अस्पतालमै राखिएको छ ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणली गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी रहेका रहनुभएको छ । घाइते बालिकाको हात र कोखमा चोट लागेको छ । दुवै जनाको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

