नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुम पूर्वमा सोमबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको उक्त र्याली जिल्लाका विभिन्न स्थानको परिक्रमा गरी सदरमुकाम रुकुमकोटमा पुगेर सम्पन्न भएको हो ।
जिल्ला पार्टी कार्यालयका अनुसार र्याली भूमे गाउँपालिकाको महत, पञ्चासे, लुगुम, काँक्री र खबाङ बगर हुँदै सिस्नेको टाकुरा, बाहुनठाना कमलदह, काजिन्द्रा, लुस्पा धारा र बाहुन डेरासम्म पुगेको थियो । उक्त र्याली सिस्ने–६ स्थित छिप्रीदहमा रहेको पार्टी कार्यालय अगाडि कोणसभामा परिणत भई समापन भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य मोहन बहादुर केसीले र्यालीमा सहभागीहरूलाई धन्यवाद दिँदै नेकपाको विजय सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । उहाँले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित निश्चित भएको जिकिर गर्दै चुनावमा अन्य उम्मेदवारहरू केवल धरौटी जोगाउने प्रतिस्पर्धामा मात्र रहेको टिप्पणी गर्नुभयो ।
त्यस्तै, समानुपातिक उम्मेदवार एवं दलित आन्दोलनका अगुवा उपेन्द्रलाल कामीले नेकपालाई विजयी गराएर संसदमा पठाए समाजवाद उन्मुख संविधान संशोधनका लागि पहल गर्ने बताउनुभयो । उहाँले वर्तमान संविधानमा धेरै कुरा परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफू निर्वाचित भए जनताको हक र अधिकारका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउनुभयो।
सभामा अर्का केन्द्रीय सदस्य केशव रावलले प्रचण्डमाथि लगाइएका विभिन्न आरोपहरूको खण्डन गर्नुभएको छ। उहाँले विपक्षीहरूले सामाजिक सञ्जालमा लगाएका आरोपहरूको जवाफ दिँदै विरोधीहरूको विगतका कमजोरीहरू समेत उजागर गर्नुभएको हो । केही व्यक्तिहरूले काम गर्दा घुस लिने गरेको आरोप लगाउँदै रावलले एमालेका उम्मेदवार र आफू स्वयं एउटै घरमा कोठा भाडामा बस्ने गरेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डलाई ‘टुरिस्ट नेता’ नभन्न चेतावनी दिनुभएको छ । नेकपाको यस र्यालीले रुकुम पूर्वको चुनावी माहोललाई थप उत्साहित बनाएको छ । नेकपाले आफ्नो नेताको विजय भइसकेको र अहिलेको प्रतिस्पर्धा केवल मतान्तर बढाउनका लागि मात्र भएको दाबी गर्दै आएको छ।
र्याली भूमे गाउँपालिका–६ महत, भूमे–२ खाबाङबगर हुँदै भूमे–१ लुगुम पुगेको थियो । मोटरसाइकल र्याली सम्पन्न भएपछि भूमे गाउँपालिका–२ काँक्रीमा कोणसभा आयोजना गरिएको थियो। उक्त सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुकुम पूर्वका सह–इन्चार्ज रामसुर बुढा मगर (विरता) ले सम्बोधन गर्नुभएको थियो । उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका संयोजक प्रचण्डलाई अत्यधिक बहुमतले विजयी गराउन कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय नेताहरू, जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको नेपाली कम्युनिस्ट पार्टी रुकुम पुर्वले जनाएको छ ।।

