रुकुम पूर्व, फागुन १
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गर्नुभएको छ। जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उहाँले जनयुद्धका स्मृतिहरू ताजा भएको बताउनुभयो।
“यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन्,” उहाँले भन्नुभयो, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ।”
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गर्नुभयो। “यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उहाँले भावुक हुँदै भन्नुभयो, “म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु।जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जा सहित अब अघि बढ्ने छौं ।”
संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राख्नुभयो।
“यस्तो संकटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा मैले यो अवसरलाई लिएको छु।”
उहाँले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो।

