विरस थापा

चुनावी माहोलको बिचमा आज रुकुम पूर्वमा होली पर्वको रौनकता छाएको छ । जिल्लाभरि एकातिर राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा व्यस्त देखिए भने अर्कोतर्फ युवायुवती तथा स्थानीय बासिन्दा रङ खेल्दै होली पर्व उल्लासपूर्वक मनाइरहेका थिए ।

पहाडी जिल्लाहरूमा आज परेको होली पर्वका अवसरमा सदरमुकाम रुकुमकोट क्षेत्र विशेष रूपमा रंगिएको देखिन्थ्यो । बजार क्षेत्रदेखि पर्यटकीय स्थलसम्म युवाहरूको चहलपहल बढेको थियो । विशेषगरी कमलदहमा आज होली खेल्नेहरूको उल्लेखनीय भीड लागेको थियो। सिस्ने गाउँपालिका–५ मा अवस्थित कमलदहको प्राकृतिक सौन्दर्य नियाल्दै आन्तरिक तथा बाह्य पर्यटकहरू र स्थानीय युवाहरूले एक–अर्कामा रङ दलेर रमाइलो गरेका थिए । ताल वरपर समूह–समूहमा बसेर तस्बिर तथा भिडियो खिच्ने, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने तथा नाचगान गर्ने गतिविधि दिनभर देखिन्थ्यो ।

कमलदह क्षेत्र आज होलीका कारण अझै आकर्षक बनेको थियो। तालको शान्त वातावरण र वरपरको हरियालीबीच रङ्गीचङ्गी दृश्यले छुट्टै उत्साह थपेको थियो । युवाहरूले ‘ह्याप्पी होली’ भन्दै एक–अर्कामा अबिर दलिरहेका दृश्य सर्वत्र देखिन्थ्यो । यसैबीच, जिल्लाका विभिन्न स्थानमा राजनीतिक दलहरूले चुनावी सभा, घरदैलो कार्यक्रम र मोटरसाइकल र्‍यालीजस्ता गतिविधि सञ्चालन गरिरहेका छन् ।

चुनावी माहोल र होली पर्व एकै दिन परेकाले बजार क्षेत्रमा दुवै गतिविधि समानान्तर रूपमा चलिरहेका देखिन्थे । यस वर्ष रुकुम पूर्वमा चुनावी उत्साह र सांस्कृतिक पर्वको रौनक सँगसँगै देखिँदा जिल्लाको माहोल झनै जीवन्त बनेको स्थानीयले बताएका छन् ।