कर्मसई घर्ती मगर

कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल मालेपाटनको संयुक्त आयोजनामा २०८२ साउन २७ गते  पोखरामा एकदिने पर्वतीय विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ ।

तालिमका लागि सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) कालिका गण पोखराको विपद् व्यवस्थापन टोली,  पोखरा महानगरपालिका वडा नं. ५  र नेपाल रेडक्रस सोसाइटी, कास्कीले म्यानिकिनसहितको सिपिआर  तालिममा सहयोग प्रदान गरेका थिए । तालिममा जम्मा ३५ जना सहभागीमध्ये कर्मफ्लाइट्सका विपद् व्यवस्थापनमा सक्रिय स्टाफहरू , बोर्डका सदस्य, प्याराग्लाइडिङ पाइलटहरू, कर्मट्रेक्ससँग आवद्ध गाइडहरू, र एपीएफ अस्पतालका अग्रपंक्तिका सुरक्षाकर्मीहरू सक्रिय रूपमा संलग्न भएका थिए ।

कार्यक्रमको अध्यक्षता तथा प्रमुख प्रशिक्षकमध्ये एक नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखराका इन्स्पेक्टर डा. अकर्षा श्रेष्ठ र उनको प्रारामेदिक टोलीले एक्युट माउण्टेन सिक्नेस-एएमएस  (लेक लाग्ने), प्राथमिक उपचार साथै सिपिआर सम्बन्धि प्रशिक्षण  र  एपीएफ विपद् व्यवस्थापन गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक इन्स्पेक्टर विनोद पौडेल   र उनको टोलीले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापन, डोरीको प्रयोग र पर्वतीय उद्धारसम्बन्धी व्यवहारिक सत्र सञ्चालन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले भने  “यस्ता तालिमहरूले हामीलाई आकस्मिक विपद् आउँदा तयार बनाउँछन् र जीवन बचाउन मद्दत गर्छन् । गाइड र अग्रपंक्तिमा काम गर्नेहरू प्रायः डाक्टर नभएका दुर्गम क्षेत्रमा पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरू दक्ष र सक्षम हुनु आवश्यक छ ।”

कर्मफ्लाइट्स फाउन्डेसन नेपालका स्वास्थ्य संयोजक तथा तालिम संयोजक कृष्ण प्रसाद पाण्डेले संस्थाले विगत १५ वर्षदेखि विपद् उद्धार, राहत, पुनःस्थापना र सामाजिक विकासमार्फत् जीवन सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, साथै विभिन्न सरकारी निकाय र स्थानीय तहसँग सहकार्य र साझेदारी गर्दै मानव कल्याणका कामहरू गर्दै आएको जानकारी दिए । उनले हाल नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पतालका इन्चार्ज डा. अकर्शाको सक्रियतामा यो विपद् व्यवस्थापन तालिम सफल भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य शिविर र यस्ता तालिमहरू गर्न साझेदारीको लागि अपिलसमेत गरे ।

तालिमका क्रममा सहभागीहरूलाई पर्वतीय जोखिमहरू तथा विपद् जोखिमबारे सचेतना दिलाइएको थियो । मौसम परिवर्तन, हिमपहिरो, पहिरो, नदी पार गर्ने तरिका र उच्च हिमाली क्षेत्रका विभिन्न उचाइका असरहरूबारे विस्तृत जानकारी दिइयो । साथै, खोज तथा उद्धारका आधारभूत सीपहरू, आपतकालीन डोरीको प्रयोग, जमीनबाट आकाशमा दिने संकेतहरू (एसोएस , भी , एक्स ), आकस्मिक उद्धार, स्ट्रेचरबिना घाइते बोक्ने तरिका, डण्डी वा अन्य सामग्री प्रयोग गरेर अस्थायी स्ट्रेचर बनाउने विधि, र उद्धार निकायसँग समन्वय गर्ने तरिकामा पनि व्यवहारिक प्रशिक्षण दिइएको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

प्रशिक्षक इन्स्पेक्टर पौडेलले भने, “सधैं जोडीमा काम गर्न , तयारीसहित स्रोतसाधन लिएर हिड्न , सानो घटना पनि गम्भीर रुपले लिन  र सधैं सतर्क रहन सुझाए ।”

डा. अकर्शाका अनुसार, यी सबै अभ्यासहरूले सहभागीहरूलाई विपद् परिस्थितिमा तुरुन्त पहलकदमी लिन  सक्षम बनाएको विश्वास व्यक्त गरिन्  । ताल  । तालिमपछि आफ्नो अनुभव बाँड्दै गाइड र पाइलटहरूले तालिम निकै उपयोगी र सोचेभन्दा पनि धेरै राम्रो भएको र अब पर्वतीय पदयात्रा क्षेत्रमा अझै दक्ष गाइड र उद्धारकर्ता बन्न सीप सिकाएकोमा संस्थाप्रति आभार प्रकट गरे।