
हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरुको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरुको पिडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा वर्षमा १/२ पटक त अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गएको साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो ।
जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाको माथिल्लो क्षेत्रहरु हिमपात भएपछी सेतै भए । कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छ भने पुथा हिमाल लगाएत धौलागिरी रेञ्ज पुरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको ५/७ किलोमिटर दुरीको मोटर यात्रा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रुकुम पूर्व-बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरुलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।
जब हिउँ पर्छ, यही सुन्दरताले आन्तरिक पर्यटकहरु लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरुको भिड देखिने गर्दछ । यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँ सहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरु पोखरा र वुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताउनुभयो । हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरुको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको सुनाउनुभयो । ‘टाढाबाट आएका मानिसहरु बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भन्नुभयो, ‘यो पातिहाल्नामा २ वटा कटेज मात्र छन्, पाहुनाहरुलाई बास बसाल्न सकिने अवस्था छैन् ।’ तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरुको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उहाँको भनाई छ ।
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरुले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र २/४ वटा फोटो क्लिक गरेर मात्र आफ्नो यात्रालाई अगाडी बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछी वर्षेणी आफुहरु समुह बनाएर हिउँ खेल्न आउने गरेको रुकुम पश्चिमबाट आउनुभएका चन्द्र बहादुर कुवंरले बताउनुभयो । यसैपनी यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरुमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउदै उहाँले हिउँ परेको समयमा जसरी नी यहाँ पुग्ने गरेको सुनाउनुभयो । प्राय मानिसहरु हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केहि मानिसहरु थप सुन्दर दृश्यलाई नियाल्नको लागि किलाचन र चौरी लेकसम्म पुग्ने गरेका छन् । चौरी लेकबाट यतीबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरी रेन्ज र ढोरपाटनको सुन्दर फाट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताउनुभएको छ । यो चौरी क्षेत्र हिउदमा हिउँको घुम्टो ओढ्दा र वर्खामा आगनभरी रङ्गीबिरङ्गी फूलहरु फुल्दा निकै सुन्दर देखिने उहाँले बताउनुभयो ।
पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरुको आगमन नरोकिने भूमे गाउँपालिका १ का दिलचन पुनले बताउनुभएको छ । पातिहाल्नामा दैनिक रुकुम पूर्व सहित विभिन्न छिमेकी जिल्लाहरुबाट आउने आन्तरिक पर्यटकहरु फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उहाँले बताउनुभयो । कतीपय मानिसहरु एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ ।
रुकुम पूर्व, बागलुङ र रोल्पा तिन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । तर यस क्षेत्रको विकास गर्न र यसलाई व्यवस्थित बनाउनको लागि कसैले चासो नदिएको कारण यहाँ घुम्न आउने मानिसहरुले पनि सास्ती बेहोरिरहेका छन् ।