रुकुम पुर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पुर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम-पातिहाल्ना खण्ड अवरुद्ध हुन पुगेको छ ।

लोकमार्ग अवरुद्ध हुदा सयौ बढी यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । अहिले यो खण्डमा काठमाडौंबाट छुटेका रात्री बसहरु फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभएको छ । उहाका अनुसार लुकुम-पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन भने २५० जना भन्दा बढी यात्रुहरु अलपत्र परेका छन् ।

अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेको कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरुको उद्वारको लागि स्थानिय तहसँग समन्वय भइरहेको डिएसपी ज्ञवालिले बताउनुभएको छ ।