रुकुम (पूर्व) मा गएको साता बिहिबार र शुक्रबार परेको हिमपातको कारण जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको संख्यामा कमी आएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातका कारण प्रशासन कार्यालयमा आउने सेवाग्राहीको संख्या घटेको हो । यसअघि कार्यालयमा सेवा लिनको लागि दैनिक २०÷२५ जना आउने गरेकोमा हिमपात भएसँगै दैनिक सेवाग्राहीको संख्या ५÷६ जनामा झरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको सबै क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको थियो । बाक्लो हिउँ जमेपछि मानिसलाई घर बाहिर निस्कन तथा दैनिक कामकाज गर्न र विभिन्न कार्यालयमा सेवा लिनको लागि आउने मासिनहरुको संख्यामा कमी आएको हो । प्रशासन कार्यालयमा यसअघिको तुलनामा न्यून मात्रामा सिस्ने र भूमेका मात्र सेवाग्राही पुग्ने गरेको प्रजिअ बाँस्कोटाले बताउनुभयो । पुथाउत्तरगंगाको हुकाम, मैकोट, पेल्मा, रन्मालगाएतको ठाउँबाट भने मानिसहरुलाई गाउँपालिकाको केन्द्र तकसेरासँगै रुकुमकोटसम्म पुग्न अझै समय लाग्ने छ ।
सहिदमार्गको रीका लेकमा जमेको हिउँ नपग्लिदासम्म पुथाउत्तरगंगा गाउँपालिकाका सेवाग्राहीलाई रुकुमकोटसम्म पुग्न समस्या हुने बताइएको छ । अहिले हिउँ जमेकै कारण रिकाको बाटो बन्द छ । यस्तै मध्यपहाडी लोकमार्गको लुकुम तातिहाल्ना खण्डमा पनि सडक अबरुद्ध भएको छ । हिमपातकै कारण जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको बताइएको छ ।