रुकुम पुर्वमा ३ वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको छ । सडक संजालको पहुँचमा नरहेका र हिडेर १ दिन लाग्ने ३ ठाउँका मत पेटिकाहरु हेलिकप्टर मार्फत मत गणना स्थल सदरमुकाम रुकुमकोट ल्याइएको हो ।
जिल्लाको सिस्ने गाउँपालिका -१ पाखापानी मतदान केन्द्र , पुथा उत्तरगंगा गाउँपालिका २ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम रुकुमकोट ल्याइएको हो ।
बाकी अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी रहेको छ । राती १२/१ बजेसम्म सबै ठाउँको मतपेटिका आइसक्ने सहायक निर्वाचन अधिकृत एवं सुचना अधिकारी इश्वरी प्रसाद सुवेदिले जानकारी दिनुभएको छ । उहाका अनुसार भोलि बिहान मात्र सर्वदलिय बैठक बसेर मत गणनाको कार्य अगाडि बढाइने छ ।
५७ मतदान केन्द्र रहेको रुकुम पुर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेका थिए । सबै ठाउँमा फोनले काम नगरेको कारण जिल्लामा खसेको कुल मत परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।
रुकुम पुर्वमा नेकपाका संयोजक एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहित ११ जना उम्मेदवार हुनुहुन्छ ।

