रुकुम पुर्वमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना जारी छ  । भुमे गाउँपालिका र सिस्ने गाउँपालिकाको मत गणना सकिदासम्म नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले ४ हजार मतले अग्रता कायम गर्नुभएको छ ।

भुमे गाउँपालिकाको ९ वटा वडा र सिस्ने गाउँपालिकाको ८ वटै वडाको मत गणना सकिदा सम्म प्रचण्डले ६ हजार ८२० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमले २ हजार ७५६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कुसुमदेवी थापाले १ हजार ८५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिनुभएको छ । उहाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार लखन थापाले ६ सय ५२, राप्रपाका रोशन शाहले ६९ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्र प्रसाद शाहिले २८ मत, प्रलोपाका उम्मेदवार सन्दिप पुनले १ सय ५३, नेसनल मंगोल अर्गनाइजेसनका उम्मेदवार ज्योती रोका मगरले ४८ मत, नेसनल रिपब्लिक नेपालका उम्मेदवार धर्म कुमार बुढाले ४५, नेपाली कम्युनिस्ट पार्टि माओवादीका उम्मेदवार जुद्द बहादुर बुढा मगरले ३५, जनता समाजवादी पार्टिका उम्मेदवार शिर बहादुर बुढाले ३ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म भुमेका र सिस्नेको १२ हजार ८३२ मत गणना हुदा ३ सय ६५ मत बदर भएको छ । अहिले पुथा उत्तरगंगा गाउँपालिकाको गणना जारी छ ।