रुकुम पुर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागी ६० करोड बढी बजेट ल्याएको छ । गएको जेठ ७ गतेबाट सुरु भएको बर्खे अधिवेशन १७ औं गाउँसभाको आज बुधबार अर्थात असार २५ गते आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गर्दै अन्त्य भएको छ ।

गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ को लागी ६० करोड ३७ लाख २० हजार रुपैंयाँ बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले ५९ करोड ७७ लाख १८ हजार ३१२ रुपैयाँ बजेट गाउँसभामा पेश गर्नुभएको थियो । त्यसमा केहि बजेट थप गर्दै गाउँसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

कुल बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ८० लाख ३५ हजार हजार रुपैयाँ अर्थात ६८.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ १८ करोड ९६ लाख ८३ हजाए ३ सय १२ रुपैयाँ अर्थात ३१.७४ .प्रतिशत छुट्याइएको छ । बजेटका लागि विभिन्न स्रोतहरूबाट रकम जुटाइनेछ।

गाउँपालिकाको अनुमान अनुसार आन्तरिक राजश्वबाट १ करोड २९ लाख रुपैयाँ आउनेछ भने संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ७८ लाख, सशर्त अनुदानबाट २१ करोड ७९ लाख, नेपाल सरकार शसर्त अनुदान LISP सहित ४ करोड ३७ हजार, विशेष अनुदानबाट १ करोड ६५ लाख र राजस्व बाँडफाँटबाट १० करोड ६७ लाख ५७ हजार ८ सय १२ र संघीय समपुरक अनुदान २ करोड ७१ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

प्रदेश सरकारबाट पनि वित्तीय समानीकरण अनुदान ७९ लाख ७३ हजार, सशर्त अनुदान १ करोड ३ लाख ८ हजार, समपूरक अनुदान ७५ लाख, राजस्व बाँडफाँटबाट ९४ लाख ९४ हजार, विशेष अनुदान मार्फत २० लाख  रुपैयाँ आउने प्रक्षेपण गरिएको छ ।

साथै, आर्थिक वर्ष २०८२/०८३ को १ करोड ५० लाखभन्दा बढी रकम आगामी आर्थिक वर्षमा अ. ल्या. हुने अनुमान गरिएकोमा त्यसमा अहिले थप गरेर २ करोड १० लाख अ. ल्या. हुने अनुमान सहित बजेट पारित गरिएको हो ।

सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने  गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले गएको ५ गते गाउँसभामा पेस गर्नुभएको थियो । नीति तथा कार्यक्रम गएको ७ गते नै सभाबाट सर्वसम्मत पारित भइसकेको छ ।

यससँगै सभाका अध्यक्ष कृष्ण रेग्मीले बर्खे अधिवेशनको अन्त्य गर्नुभएको छ ।