रुकुम पूर्वका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले रुकुम पूर्व आफ्नो “कर्मभूमी”  रहेको बताउनुभएको छ । रुकुम पूर्वमा आफु नयाँ नरहेको बताउदैं संयोजक दाहालले रुकुम पूर्वलाई आफुले “कर्मभूमी” को रुपमा लिएको बताउनुभएको छ ।

जनभेटघाट तथा चुनावी अभियानको क्रममा माघ २९ देखी फागुन ०६ सम्म रुकुम पूर्वको विभिन्न ठाउँमा पुग्नुभएका प्रचण्डले रुकुम पूर्वसँग आफ्नो राजनीतिक जीवनको गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धकालीन संघर्षदेखि शान्ति प्रक्रियासम्मका विभिन्न चरणमा रुकुम पूर्वका जनताको साथ, सहयोग र विश्वासले आफूलाई अघि बढ्न प्रेरित गरेको बताउनुभएको थियो । आफुलाई अहिले विरोधीहरुले टुरिष्ट उम्मेदवार भन्दै भ्रम छरिरहेको बताउदै संयोजक दाहालले कसैलाई भ्रममा नपर्न आग्रह गर्नुभयो । “रुकुम पूर्व मेरो कर्मभूमी हो ।”  संयोजक दाहालले भन्नुभयो,  “देश परिवर्तनको लागि क्रान्तीको सुरुआत गरेको र देशमा गणतन्त्र ल्याउनको लागि शान्तीको ढोका खोलेको जिल्ला रुकुम पूर्व हो ।” रुकुममै बसेर क्रान्ती र शान्तीको नेतृत्व गरेको मान्छेलाई रुकुम पूर्वको माया छैन् भनी विरोधीहरुले भ्रम छर्नु भनेको हत्केलाले सूर्य छेकेर रात पर्यो भने सरह भएको उहाँको भनाई छ ।

कर्मभूमी रुकुम पूर्वसँग जोडिएका विगतहरुलाई सम्झदै उहाँले भन्नुभयो, “राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गर्यो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलेरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो । जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुम पूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।

विसं २०५३ वैशाख २३ मा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपल्लो सेराको छेरावाङमा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलोपटक एम्बुस धरापमा पारेको थियो । विसं २०५४ माघ १६ गते क्युवाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो । माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जा गर्नुका साथै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरी जवानहरूलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी हुनुहुन्थ्यो । माओवादीले आफ्ना शीर्षनेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।

विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा. बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । विसं २०६२ असोजमा रुकुम पूर्वको चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो । माओवादीको चुनवाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुनुका साथै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भई शान्ति स्थापना भएको थियो । त्यसबेला क्रान्ती र शान्तीको नेतृत्व मैले नै गरेको थिए ।”

यस जिल्लासँगको सम्बन्ध विचार, भावना र आत्मिएताले बाधिएको बताउदै संयोजक दाहालले यी सबै कुराको ख्याल गर्दै यहाँको विकास र आर्थिक समृद्धिको लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । प्रचण्डले आफ्नो राजनीतिक यात्रामा रुकुम पूर्वको विशेष स्थान रहेको भन्दै यहाँका नागरिकसँगको भावनात्मक सम्बन्ध सधैं कायम रहने उल्लेख गर्नुभयो । उहाँले विगतका संघर्षका दिनहरू सम्झँदै त्यतिबेला स्थानीयले दिएको आश्रय, साथ र समर्थनले आफूहरूलाई कठिन परिस्थितिमा पनि अघि बढ्न साहस मिलेको बताउनुभएको थियो ।

यस्तै उहाँले भदौ २३ र २४ गते भएको जेन्जी घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गर्नुभएको थियो । उहाँले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताउनुभयो । उहाँले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो । उहाँका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो । त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उहाँले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गर्नुभयो ।

प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताउनुभयो । उहाँले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताउनुभयो । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको बताउदै उहाँले देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

जसरी रुक्मेली जनताले युद्धकालमा साथ दिएका थिए, त्यसरी नै सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा रहेको नेपाली कम्यूनिष्ट पार्टीलाई अहिले पनि जनाताले साथ दिनपर्ने भनाई उहाँको थियो ।

रुकुम पूर्वबासीसँग विकास र समृद्धिको प्रतिबद्धता

प्रचण्डले जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको विभिन्न ठाउँमा जनभेटघाट गर्ने क्रममा यहाँका नागरिकहरुको मुल माग भनेको सहिदमार्ग पिच र सडक नपुगेको ठाउँमा सडक पुर्याउने कुरा रहेको पाएको बताउनुभयो । आफूले चुनाव जितेर गएपछी पाँच वर्षे कार्यकालमा रुकुम पूर्वलाई नमुना जिल्लाको रुपमा विकास गर्ने संयोजक प्रचण्डले बताउनुभयो । सहिदमार्गलाई शहरतारा हुँदै चाइनासम्म जोड्ने र पिच गर्ने, जिल्लाको ३१ वटै वडामा बाह्रै महिना चल्ने गरी सडक संजालको विस्तार गर्ने, संचार र विद्युत सेवाको विस्तार गर्ने प्रतिबद्धता उहाँले रुकुम पूर्वबासी नागरिक समक्ष गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अब संघर्षको अध्याय सकिएको छ, अब विकास र समृद्धिको युग सुरु भएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै रुकुम पूर्वलाई केन्द्रसँग जोड्ने कुरामा मैले कूनै पनि कसर बाकी राख्ने छैन् ।”

युवालाई रोजगारी र कृषिमा आधुनिकीकरण

प्रचण्डले युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन कृषि, पशुपालन र पर्यटन क्षेत्रमा लगानी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

रुकुम पूर्वको कृषि सम्भावना उच्च रहेको भन्दै उहाँले अर्गानिक उत्पादन, जडीबुटी खेती र बजारिकरणलाई ध्यानमा राख्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र बजार व्यवस्थापनमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको बताउनुभयो ।

ऐतिहासिक सन्दर्भ

रुकुम पूर्व जनयुद्धको उद्गमथलो हो ।  त्यस बेलामा यहाँका बासिन्दाले ठूलो राजनीतिक र सामाजिक परिवर्तनको माग गर्दै आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । प्रचण्डले सोही सन्दर्भ उल्लेख गर्दै यहाँको योगदान इतिहासमा सदैव स्मरणीय रहने बताउनुभयो । उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणपछि देश स्थायित्वको चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब सबैको ध्यान विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । रुकुम पूर्वका ऐतिहासिक ठाउँहरु रुकुमकोट चौकी आक्रमण गरेको ठाउँ ठाँटी डाँडा, लाबाङ, महत, चुनवाङको भेरीडाँडा लगाएतका ठाउँहरुलाई युद्ध पर्यटनको रुपमा विकास गर्ने र इतिहासलाई बचाइराख्ने सँगसँगै आर्थिक स्थितीलाई पनि माथी उठाउने गरी काम गर्ने भनाई उहाँको छ । “हामीले धेरै संघर्ष गर्‍यौं । अब जनताको जीवनस्तर उकास्नु नै हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभएको  छ ।

जनयुद्धका सहिद परिवार, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारसँग प्रचण्ड

रुकुम पूर्वमा पुगेर प्रचण्डले जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता र सहिद परिवारका व्यक्तीहरुलाई सम्मान गर्नुभएको छ । उहाँले जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता र सहिद परिवारका व्यक्तीहरुलाई खादा ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको हो ।  प्रचण्डले सहिदहरूको योगदान र बलिदानको स्मरण गर्दै परिवारजनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । प्रचण्डले जनयुद्धको उपलब्धिलाई संस्थागत गर्दै पीडित परिवारको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न आफू निरन्तर लागिरहेको बताउनुभयो । सम्मान कार्यक्रममा सहभागी भएका सहिद परिवारले प्रचण्डको हातबाट उहाँले हस्ताक्षर गरेको सम्मान पत्रद्धारा सम्मानित हुन पाउदा आफुहरुलाई गर्व लागेको सुनाएका थिए ।

रुकुम पूर्वमा प्रचण्डले दिएको अभिव्यक्तिलाई  स्थानीयले सकारात्मक रूपमा लिएका छन् । जनयुद्धको बेलामा अग्र भूमिकामा रहेको रुकुम पूर्वमा विकास भने अपेक्षित नभएको बताउदै यहाँका स्थानीयले अहिले जनातासँग गरेका बाँचाहरु चुनाव जितेर गएपछि पुरा गर्नैपर्ने माग राखेका छन् । विगतमा विकास नभएको भन्दा पनि जती हुनुपर्ने त्यती नभएको बताउदै स्थानीयले पूर्व प्रधानमन्त्रीलाई नै जिल्लाको उम्मेदवारको रुपमा पाउदा यहाँको विकासले फड्को मार्ने कुरामा आफुहरु विश्वस्थ रहेको पुथा उत्तरगंगा गाउँपालिका- मैकोटका बम बहादुर शाहीले बताउनुभयो ।

रुकुम पूर्वको भ्रमणमार्फत प्रचण्डले आफ्नो पुरानो राजनीतिक आधार क्षेत्रसँग सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ । रुकुम पूर्वबाट चुनाव लड्ने कुरा गर्दै गर्दा त्याहाँका जनताले के भन्लान, कसो भन्लान भन्ने कुरा मनमा आएको बताउदै संयोजक दाहालले रुकुम पूर्वमा आइसकेपछि यहाँका जनताको आफुप्रतिको आसा, भरोसा र उत्साहमा कमी नआएको पाएको बताउनुभयो । रुकुम पूर्वबासीको यो भरोसालाई कायम राख्न आफ्नो तर्फबाट हुने सबै किसिमको प्रयासहरुलाई जारी राख्ने उहाँले बताउनुभयो ।

“रुकुम पूर्व मेरो कर्मभूमी हो” भन्ने प्रचण्डको अभिव्यक्ति केवल भावनात्मक मात्र नभई राजनीतिक सन्देशसमेत भएको टिप्पणी गरिएको छ ।