रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर गाउँपालिका भित्रका सहिद परिवारलाई सम्मान गरेको हो । गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरि ५५ घर सहिद परिवारलाई सम्मान गरिएको हो ।
उनिहरुलाई तामाको एकएक वटा अमखोरा र ऊनीको बर्कीले सम्मान गरेको गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बर वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो । सहिद परिवार सम्मान तथा सहकारी सञ्चालन कार्यसमिति निर्माण कार्यक्रममा बोल्दै गाउँपालिका अधयक्ष कुमारी बरालले सहिदको सपना पुरा गर्न सिस्ने सरकार सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
अहिले विभिन्न मानिसलाई रोजगारी सिर्जना गर्दै आयआर्जनमा जोड्दै लगेको र पाँच वर्षे कार्यकालको अहिलेसम्मको अवधिमा स्थानीय सरकारको क्षमताअनुसार सहिद, घाइते, अपाङ्ग, बेपत्ता परिवारको लागि विभिन्न कामहरु गरेको अध्यक्ष बरालले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बरालको अध्यक्षतामा भएको सहिद परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति संयोजक मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मि, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति सदस्य मन्सराम खड्का, सिस्ने गाउँकार्यपालिका सदस्य एवम् सहिद परिवार सिस्ने गाउँपालिका इन्चार्ज भद्रि थापा लगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सिस्ने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष जिवन केसीले गर्नुभएको थियो ।