रुकुम(पूर्व) मा ७ दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न भएको छ । यहि फागुनको १४ गचेबाट रुकुमकोटमा सुरु भएको ७ दिने आधारभूत पत्रकारिता, उद्धघोषण तथा प्राविधिक तालिम आज सम्पन्न भएको हो । सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग, प्रेस सेन्टर नेपाल रुकुम (पूर्व) को समन्वय र रेडियो पूर्वी रुकुमको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

७ दिनको अवधिमा समाचार लेखन, कार्यक्रम सञ्चालन तथा उत्पादन र प्राविधिकतर्फको विभिन्न कुराहरु सिकाएको छ । तालिममा समाचार कसरी लेख्ने, समाचारका स्रोत, समाचार पहिचान, संकलन, सम्पादन तथा प्रकाशन, प्रशारण, कार्यक्रम उत्पादन, सञ्चालन, उद्धघोषण तथा प्राविधिकतर्फको आधारभूत कुराहरु सिकाइएको थियो । सहभागीहरुले ७ दिनको अवधिमा धेरै कुराहरु सिकेको बताउदै तालिम उपलब्धिमुलक भएको बताएका छन् ।

तीन वटै गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका ४२ जना प्रशिक्षार्थीले तालिममा सक्रिय भएर सिकेका थिए । तालिमको रुकुम(पूर्व) र पश्चिमका पत्रकारहरुले सहजिकरण गर्नुभएको थियो । रुकुम(पूर्व) मा पत्रकारको संख्या कम भएको र नयाँ मानिसहरु यस क्षेत्रमा नआइरहेको बेलामा नयाँ पत्रकार उत्पादनको लक्षसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले अहिलेको अवस्थामा सुचना प्रविधिको विकाससँगै सुचनाका माध्यामहरु प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । यो आधारभूत तालिममा सिकेका कुराहरुलाई ध्यानमा राख्दै पत्रकारितामा निरन्तर रुपमा कलम चलाउन र विभिन्न राष्ट्रिय माध्याममा आबद्ध भएर काम गर्न उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो । यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले सिकेको कुरालाई व्यवहारका कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभएको छ । पत्रकारिताले गरेको राम्रो कामको प्रचारप्रसारसँगै गलत भएको ठाउँमा खबरदारीको काम गर्ने भएको हुँदा तालिम अवधिमा सिकेका कुराहरुलाई आधार मानेर यस क्षेत्रमा निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

रेडियोका स्टेसन म्यानेजर गनेश ओलीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा रेडियो पूर्वी रुकुमका सञ्चालन समिति अध्यक्ष लालबहादुर विसी, प्रशिक्षक एवम् पेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्का र प्रे्स सेन्टर नेपाल रुकुम(पश्चिम) का अध्यक्ष हरि गौतम, प्रेस सेन्टर नेपाल बाफीकोट गाउँपालिका रुकुम(पश्चिम) का सचिव बलबहादुर खत्रीको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रेडियो पूर्वी रुकुमका प्राविधिक बसन्त बाँठामगरले गर्नुभएको थियो ।