रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा साढे एक सय भन्दा बढीको घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका एक सय ७२ विपन्न परिवारको घरमा टिनको छाना हालिएको हो ।

कार्यक्रम लागु भएको सुरुको वर्ष अर्थात आर्थिक वर्ष २०७६÷७७ मा सिस्ने गाउँपालिकाका ३० घर परिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छानो हटाएर टिनको छानो हालेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले जानकारी दिनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ७६ घर परिवारले टिनको छानो हालेका थिए । चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भने ६६ घर परिवारले टिनको छानो फेरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दाहालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा टिनको छाना फेरेका ६६ जनालाई भुक्तानीसमेत दिइसकेको गाउँपालिकाले जनाएको छ । खरको छाना हटाइ टिनको छाना हाल्नको लागि सम्झौता गरेकामध्येमा ८७ घरपरिवार अझै बाकी छन् । उनिहरुध्येमा कतीपयले घर बनाइसकेका छन् भने कतीपयले बनाएका छैनन् । उनिहरुलाई पनि भुक्तानीको लागि सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा बजेट माग गरी पठाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दाहालले बताउनुभएको छ ।

उहाँकाअनुसार गाउँपालिकाभरबाट टिनको छानाको लागि भनेर ५ सय ८३ वटा नवेदन परेका थिए । त्यस मध्येमा छनोटमा ३ सय ९ घर परेका थिए भने सम्झौता २ सय ५९ घरपरिवारको भएको थियो । यसमा १ नम्बर वडामा २५ घर, २ नम्बर वडामा ४१ घर, ३ नम्बर वडामा २० घर, ४ नम्बर वडाका ४६ घरले छानो फेर्नको लागि सम्झौता गरेका थिए । यस्तै ५ नम्बर वडाका ३९, ६ नम्बर वडाका ४०, ७ नम्बर वडाका २७ र ८ नम्बर वडाका २१ घरपरिवारले सम्झौता गरेका थिए ।

अन्य वडाका नागरिकहरु टिनको छानो फेरेर भुक्तानीको लागि आएपनि १ नम्बर वडाका नागरिकहरु एक जना पनि नआएको गाउँपालिकाले जनाएको छ । भौगोलिक हिसावले विकट, सडक नपुगेको ठाउँ सिस्ने १ बासीलाई आउन जान तथा टिन ढुवानीको ५० हजार भन्दा धेरै खर्च हुने हुँदा मानिसहरु नआएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दाहालले बताउनुभयो । छनोटमा परेका विपन्न परिवारले पहिले आफ्नै लगानीमा टिनको छानो हालेपछि प्राविधिकको अनुगमण पश्चात ५० हजार भुक्तानी दिने गर्दछ ।