रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेका सकेट बम सेनाद्धारा डिस्पोज गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा बिहिबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले डिस्पोज गरेको हो ।
ड्रम बाहिर दुई वटा र ड्रम भित्र अनुमानीत ८ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज शुक्रबार बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई डिस्पोज गरेका हुन् ।
१० वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालिन नेकपा माओबादीका लडाकुहरुले उक्त सकेट बम युद्धकालमा त्यहा छोडेको हुन सक्ने वडाध्यक्ष केसीले बताउनुभयो । सेनानी बावुलाल जिसी नेतृत्वको ११ जनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । डिस्पोज गर्दा ठूलो आवाजमा बम पड्किएको थियो । २ चरणमा गरी सबै बम डिस्पोज गरिएको हो ।