रुमे कार्की आफ्नो उत्पती थलो खोज्दै हिडेको छ । बागलुङमा रहेको रुमे कार्की उत्थान समाजले २०७५ सालबाटै विभिन्न ठाउँमा गएर रुमे कार्कीको उत्पती भएको ठाउँ खोज्दै हिडेको हो । सोहि क्रममा उत्थान समाज फागुन २६ गते रुकुम(पूर्व) को रुकुमकोटमा पुग्यो । कार्कीहरुले बसोबास गर्दै आएको ठाउँ पत्ता लगाएर खोज अनुसन्धान गर्ने क्रममा उत्थान समाज रुकुमकोटमा पुगेको हो ।
देशभरका विभिन्न ठाउँमा बसोबास गर्ने मौदगल्य गोत्रका रुमे कार्कीसँग सम्कर्प गरि तथ्यपूर्ण वंशावली तयार पर्ने तथा संगठित गर्ने र पूर्वजहरुले गर्दै आएको ऐतिहासिक कुल देवताको पुजालाई समयानुकुल व्यवस्थित गर्दै पाँच वर्षको अन्तरालमा नियमित पुजा सञ्चालन गर्ने उदेश्यले रुमे कार्की उत्थान समाजले देशका विभिन्न ठाउँमा भ्रमण गरिरहेको समाजका अध्यक्ष पे्रमबहादुर कार्कीले जानकारी दिनुभयो ।
सामाजिक न्याय र पारस्परिक सम्बन्ध सुदृढ र कायम गर्दै भातृत्व, सहिष्णुतामा टेवा पुर्याउने, समाजका साझा ऐतिहासिक महत्वका धरोहर कुल मन्दिर, जेष्ठी घरको मन्दिर सत्तलहरुको संरक्षण र सम्वर्दन गर्नेलगाएतका उदेश्य भ्रमणको रहेको समाजका अध्यक्ष कार्कीको भनाई छ । उहाँकाअनुसार अहिले बागलुङमा ६ सय घरधुरी रुमे कार्की रहेका छन् । अहिलेसम्म देशका विभिन्न जिल्लामा जादा म्याग्दि, पर्वत, चितवन, गुल्मि, रुपन्देहीमा रुमे कार्कीहरु भेटिएका छन् । अहिलेसम्म यी जिल्लामा भेटिएका रुमे कार्कीहरु बागलुङबाटै बसाइ सरेर गएको पाइएको छ । तर बागलुङमा रुमे कार्की कहाँबाट आयो भनेर आफुहरुले खोजी गरिरहेको समाजका अध्यक्ष कार्कीले बताउनुभयो ।
रुमे कार्कीको थर गोत्र समावेशी आयोगमा एक सय ९५ औ नम्बरमा दर्ता भएको छ । रुमे कार्की उत्थान समाज बागलुङका सचिव भद्रबहादुर कार्कीले पुर्वजहरु रुकुमबाट बसाइ सरेर गइ बागलुङमा बसोबास गरेको हुनाले ठाउँ विशेष रुकुमेली, रुकुमे कार्की क्षेत्री भन्दाभन्दै अपभ्रंस भइ रुमे पद भएको विभिन्न किम्बदन्तिले पुष्टि गरेको बताउनुभयो । यसै सिलसिलामा रुमे कार्कीको उत्पती थलो खोज्दै रुकुम पुगेको भनाई उहाँको छ । रुकुम(पूर्व) मा रुमेसँग गोत्र मिल्ने तर मुडुला जातको कार्की रहेको छ । रुकुम(पूर्व) मा रुमे कार्की नभेटिएपछि उत्थान समाज रुकुम(पश्चिम) को चौरहजारी गएको थियो ।
त्यहाँ रुमे कार्की भेटेको तर उतपती थलो पत्ता नलागेको भ्रमण टोलीले बताएको छ । भ्रमण टिममा रुमे कार्की उत्थान समाज बागलुङका अध्यक्ष प्रेमबहादुर कार्की र सचिव भद्रबहादुर कार्कीसहित उपाध्यक्ष पूर्णबहादुर कार्की, कोषाध्यक्ष डिलबहादुर कार्की, सदस्यहरु यामबहादुर कार्की र सुजित कार्की रहनुभएको छ ।
कार्की थरको बारेमा जान्न चाहनुहुन्छ ?
रुमे कार्की उत्थान समाजका सचिव भद्रबहादुर कार्कीकाअनुसार पृथ्वी नारायन शाहले एकीकरण गरि नेपाल राज्यको स्थापना गर्नुपूर्व नेपाल विभिन्न राज्यहरुमा विभक्त थियो । ती राज्यहरुलाई भुरे, टाकुरे, बाइसे, चौबिसे राज्यका नामले चिनिने गरिन्थ्यो । उक्त राज्यमा विभिन्न जातजातीका राजाहरुले शासन गर्थे । नौबिसे सिगाना राज्यका संस्थापक राजा गुरुङ जातका थिए भन्ने जनश्रुति पाइन्छ । गुरुङ राजाले वि.सं १२७० मा अफ्नो राज्य स्थापना गरि करिब ५० वर्षे शासन गरेको पाइन्छ ।
गुरुङ राजालाई परास्त गरी बलामी मगर राजाले करिब १०० वर्ष शासन गरेको पाइन्छ । मगर राजालाई पराजित गरि वि.सं १४२० मा उचै ठकुरी राजाले सिगानी राज्यको शासन सम्हाल्न पुगेका थिए । उनी राजाले वि.सं १५५० सम्म १३० वर्ष शासन गरेको देखिन्छ । यसै उचै ठकुरी राज्यकालमा रुकुम जिल्लाको रुकुमकोटबाट घुम्दै आएको कार्की क्षेत्रीहरु सिगानाकै रमणीय ठाउँ तत्कालिन राजदरबार, हालको कोत मन्दिर भन्दा करिब पाँच सय मिटर तल बलामकोटमा बसोबास गरेका कार्कीहरुको इमानदारिता, बहादुरी र राज्यप्रतिको बफादारीताबाट प्रभावित भएर राजाले उमराव(मन्त्री) मा नियुक्ती गरेको र राजालाई राजकाजमा सहयोग गर्दै आएको बुझिन्छ ।
राजालाई राज्यकालमा सहयोग गर्दै आएका कार्की काजीहरुलाई राजाले बिर्ता बापत तत्कालिन सिगाना र रेशका महत्वपूर्ण खेतीयोग्य जमिन दिएको पाइन्छ । बिर्ता दिएको भनिएका जग्गा जमिनहरु बलामकोट हालसम्म पनि कार्कीकै स्वामित्वमा रहेको छ । कार्की थर अन्तर्गत रुमे, मुडुला, लामा, सुतरा कार्कीहरु पर्दछन् । आदिम पुर्खा मौदगल्य ऋषिका सन्तानमा क्षेत्री जातका रुमे र मुडुला कार्कीहरु पर्दछन् भने ब्राहमन जातका कोइराला, उप्रेती, निउरे जात आदी पर्दछन् ।
भनिन्छ, मौदगल्य ऋषि सुरुमा क्षेत्री थिए । क्षेत्रीय हुँदा उनले कार्की क्षेत्रीलाई जन्म दिएका थिए । पछि उनको तपश्वीबाट जात बढोत्तरी हुँदै ब्राह्मण भइ कोइराला, उप्रेती, निउरेलाई जन्म दिएको हुँदा रुमे, मुडुला, कोइरा, उप्रेती र निउरे आदी जात मौदगल्य गोत्रीय दाजुभाइ हुन पुगेका हुन् ।
नेपालमा जात जातीको नामाकरणलाई हेर्ने हो भने काम विशेष र ठाउँ विशेषबाट पनि कतिपय जातजातीहरुको नामाकरण भएको पाइन्छ । अतः कार्की थर रहनुमा कार्कीका पुर्वजहरुले कुनै समयमा कर(राजश्व) विभागमा करिन्दा करणी भएर कार्य गर्दै आए । यसरी यिनीहरुलाई कारिन्दा, करणी, कायकी भन्दै जाँदा कारकी(कार्की) थर हुन पुग्यो । नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने रुमे कार्कीको उद्धगम स्थल बागलुङको सिगानाको बलमकोत नै हो । तर बलमकोतमा बसोबास गर्दै आएको रुमे कार्कीको उत्पती थलो कहाँ हो त भन्ने कुरा अहिले अनुसन्धानको क्रममा रहेको छ ।