रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित मारिपाखा–खारा चोक सडकखण्ड पिच हुने भएको छ । मारिपाखाको छिप्रीदह र जिल्ला प्रहरी कार्यालय जाने मोडदेखि चोकबजार, लामपाटा हुँदै विद्युत प्राधिकरण वितरण केन्द्रको कार्यालय अगाडिको चोकसम्मको करिब ६ सय मिटरमा सडक पिच हुने भएको हो । अहिले उक्त खण्डमा स्टक्चरको काम धमाधम चलिरहेको छ ।

सडक पूर्वाधार विकास कार्यालयको बजेटले क्रमागत रुपमा सडक पिचको काम हुने छ । सडक निर्माणको जिम्मा भ्याट बाहेक ८४ लाख ९६ हजार ३ सय २ रुपैयाँमा डिग्रे साइकुमारी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनीले जिम्मा लिएको छ । काम भने पिटि ठेकेदारमार्फत भइरहेको छ । गएको माघ ९ गतेबाट सडक पिचको लागि स्टक्चर निर्माणको काम अघि बढाएको पिटी ठेकेदार काजी केशवजंग थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यस वर्षमा उक्त बजेटबाट ग्याबिन वा, मेसेनरी वाल लगाउने, कटीङ र फीलीङको काम गरिने छ । साथै मारिपाखामा झरेको पहिरो हटाउने काम गरिने ठेकेदार थापाले बताउनुभयो । क्रमागत रुपमा अर्को आर्थिक वर्षमा आउने बजेटबाट सडक पिचको लागि अन्य थप काम गर्ने थापाले बताउनुभएको छ ।

चालु आर्थिक वर्षमा काम भइरहेको बजेट खास रुकुमकोट–धाउने सडकखण्डको लागि आएको थियो । त्यहाँ पनि काम भइरहेकाले डुब्लिकेसन भएर बजेट फिर्ता जाने भएपछि ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विकको पहलमा रुकुमकोट–धाउने सडकखण्डको बजेटले मारीपाखा–खाराचोकको काम अघि बढाइएको हो ।