रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले पार्टी परित्याग गरेका छन् । गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित सुरबहादुर रोकाले पार्टी परित्याग गर्नुभएको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहनुभएका वडाध्यक्ष रोकाले फागुन २८ गते पार्टी परित्यागको प्रेस विज्ञप्ति लेखेर पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।

नेपाली कांग्रेसबाट पार्टी परित्याग गरेको र आगामी दिनमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र भइ बस्ने भनाई उहाँको छ । ‘कुनै पनि पार्टीमा नलाग्ने बाचा गर्दै स्वतन्त्र रहन्छु’ रोकाले भन्नुभयो–‘गएको प्रदेश महाधिवेशनमा मैले दिएको मेरो उम्मेदवारीका प्रमाण–पत्र पनि जानकारी विना रातारात च्यातेर फालिदिए अनि पार्टीको बैठकमा अपमान जनक शब्द म माथी प्रहार गरियो ।’

दलाल पुँजीवाद नातावादलाई काखमा च्याप्ने र मैले राखेका जनताका योजनाहरूमा पार्टीका नेताहरू नै तगारो बनेकाले पार्टी त्याग गर्न बाध्य भएको रोकाले बताउनुभयो । नेपाली कांग्रेस भित्रका केही नेता भनाउदा, दलाल प्रवृत्ति भएकासँग बसी जनताको सेवा गर्न नसकिने भएकाले पार्टी परित्याग गरेको रोकाले जानकारी दिनुभयो ।

आगामी दिनमा स्वतन्त्र भइ दुःखी, पीडित जनताका लागि सिसाका गोली आएपनि छाती थापि आफू मर्न पनि तयार भएर जनताको काखमा बसी जनताकै सेवा गर्ने रोकाको भनाइ छ । बीपीका सिद्धान्तलाई नेपाली कांग्रेसका बुद्धिजीवीले अमर राखुन् बीपी प्रति मेरो सद्भाव छ, पार्टी भित्रका दलाल पुँजीवाद नातावादलाई घृणा गर्दै पार्टी त्याग गरेको जानकारी गर्दछु, रोकाले फेसबुकमा लेख्नु भएको छ ।