यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले ३ सय २ जना म्यादी प्रहरी माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले एक सूचना जारी गर्दै जिल्लामा ३ सय २ जना म्यादी प्रहरीको माग गरेको हो । इच्छुकले यही चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा आवेदन दिन पाउनेछन् ।
सार्वजनिक विदा बाहेक चैत्र ६ देखि ११ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको हुनुपर्नेछ । आवेदन दिन आउँदा हालसालै खिचेको पासपोर्ट साईजका फोटो ५ प्रति, शैक्षिक योग्यता प्रमाण पत्र लगायत सम्बन्धित अनुभवी कागजपत्र आवश्यक पर्ने छ ।
गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनोट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । प्रहरी जवानले पाउने गरेको सो सरह नै म्यादी प्रहरीले सेवा, सुविधा पाउने छन् ।