रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमाले निकट युवा संघका वडाध्यक्षसहित ४ जना नेकपा माओवादी केन्द्रका प्रवेश गरेका छन् । ९ नम्बर वडा युवा संघका अध्यक्ष अनुज शाही एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । यस्तै नेपाली कांग्रेस परित्याग गरि आएका अन्य ३ जनालाई पनि माओवादी केन्द्रले पार्टी प्रवेश गराएको छ ।

कांग्रेसका क्रियाशिल सदस्यहरु रचना विक, संजिव विक र टेकबहादुर कामी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ संगठन समितिका सहसचिव टिकाशाही घर्तीमगरले जानकारी दिनुभयो । उहाँकाअनुसार एमाले निकट युवा संघको अध्यक्ष छोडेर माओवादीमा आउनुभएका शाहीलाई वाइसीयल ९ नम्बर वडाको अध्यक्षको जिम्मेवारी समेत दिइएको छ । पार्टी पुथाउत्तरगंगा गाउँ समितिको जनसम्बन्ध सुदृढ अभियानअन्तर्गत वडाको खाराबाङमा आयोजना गरिएको कार्यक्रमको अवसर पारि उहाँहरुलाई पार्टी प्रवेश गराइएको गाउँ समितिका सहसचिव घर्तीले बताउनुभयो ।

गाउँ संगठन समितिले गएको फागुन महिनाको तेस्रो र चौथो साता गाउँपालिकाको विभिन्न वडाहरुमा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गरेको थियो । त्यतिबेला छुटेका वडाहरुमा अहिले सो अभियान सञ्चालन गरिरहेको पार्टी गाउँ संगठन समितिले बताएको छ । आज वडा नम्बर ४ को अर्जलमा अभियान कार्यक्रम सम्पन्न गरिएको छ । आगामी वैशाखमा हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरि सञ्चालन गरिएको यस अभियानमा पार्टीका गतिविधी सुनाउनुका साथै नागरिकहरुको सुझावहरु संकलन गर्ने काम भइरहेको पार्टी गाउँ संगठन समितिले बताएको छ ।

साथै माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका जनप्रतिनीधिले गरेको कामहरुको बारेमा पनि नागरिकलाई जानकारी गराउदै आएको पार्टी गाउँ संगठन समितिका सहसचिव घर्तीले बताउनुभएको छ । अभियानको क्रममा नागरिकहरुबाट पनि विभिन्न सल्लाह सुझावहरु आएको उहाँको भनाई छ । अभियान कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्यहरु संगम रोका, महेन्द्र बुढा, जिल्ला समन्वय समिति सदस्य सुरुल पुन, पार्टी गाउँ संगठन समिति सहसचिव घर्ती, सचिवालय सदस्य भूपेन्द्रा बुढा, पार्टी गाउँ सल्लाहकार संयोजक काप्चे कामी, वाइसिलय लगाएतको उपस्थिती रहेको थियो ।