रुकुम(पूर्व) मा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई यहि चैत्र २५ गतेबाट टाईफाईड बिरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यो उमेरसमुहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समुहका बालालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले यसै उमेर समुहका बालबालिकालाई लक्षित गरि नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो ।

रुकुम(पूर्व) मा १५ महिनादेखि १५ वर्ष उमेर समुहका १८ हजार ४ सय १८ जना मानिस रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार टाईफाईड बिरुद्धको खोप लागाउने उमेर समुहको बालबालिकाको संख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हारहारीमा रहेको छ । यो अभियान देशव्यापी रुपमा चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म चल्ने छ ।

यसै क्रममा स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले टाईफाईड बिरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्ययोजना निर्माण गर्नको लागि भनेर जिल्लास्तरी अभिमुखीकरण गोष्ठिको आयोजना गरेको छ । गोष्ठिमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको छ । आज र भोली दुईदिनसम्म चल्ने गोष्ठिमा छलफलको माध्यामबाट खोप केन्द्रको संख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडाहरुमा सरोकारवालाहरुसँग अभिमुखीकरण गर्ने मिति तय गरिने गिरीले बताउनुभएको छ ।

उाँकाअनुसार जिल्लामा साविकको गाविसका प्रत्येक वडाहरुमा खोप केन्द्र स्थापना गरि टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गरिने छ । आवश्यकताको आधारमा भौगोलिक विकटता भएको ठाउँमा दुई घण्टा भन्दा बढी समय लाग्ने ठाउँमा खोप केन्द्र स्थापना गरि अभियान संचालन गर्न सकिने छ । टाईफाईटड बिरुद्धको खोप लागाउने लक्षित जनसंख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ ।

टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात जिल्लास्तरीय अभमुखीकरण तथा गोष्ठ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम(पूर्व) का उपप्रमुख भिमकुमारी पुनले यस अभियानले जिल्लामा मात्र नभई देशभरनै टाइफाईटको उन्मुलन हुँदै जाने बताउनुभयो । साथै जिल्लामा खोप अभियान सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना दिनुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अभियान सफलतापूर्वक सम्पन्न गर्नको लागि त्यति सजिलो नभएको बताउनुयो । सबै बालबालिका विद्यालयको पहँुचमा नभएको, भौगोलिक विकटता रहेकाले पनि अभियान सञ्चालन गर्दा विषेश योजना बनाउनुपर्नेमा प्रजिअ खड्काले जोड दिनुभयो । साथै यस अभियानलाई सफल पार्नको लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमीका खेल्न पनि आग्रह गर्नुभयो ।

यस्तै निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले यो खोप अभियानले सबै बालबालिकालाई टाइफाईड रोगबाट सुरक्षित बनाउने बताउदै कार्यक्रम सफलताको शुभकामना दनुभएको छ । साथै उहाँले यस अभियान टाइफाईड उन्मुलनमा कोसे ढुंगा सावित हुने बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाई रुकुम(पूर्व) का प्रमुख तीलक गौतमले टाइफाइड रोग खोपमार्फत निर्मुल पार्ने सरकारको अभियान राम्रो भएको बताउदै टाइफाईडकै कारण बालबालिकाहरु विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का निमित्त कार्यलय प्रमुख एवम् जनस्वास्थ्य निरिक्षक यादव शर्माको अध्यक्षतामा भएको योजना गोष्ठि कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम(पूर्व) का उपप्रमुख भिमकुमारी पुनको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तीलक गौतम लगाएतको आतीथ्यता रहेको थियो । स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इनिस्पेक्टर अनुराधा झाको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का ल्याब टेक्निसीयन निरिक्षक निमप्रसाद गिरीले गर्नुभएको थियो ।