कुमार राना/रुकुम(पूर्व)


रुकुुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी समय सुरु भएसँगै सिस्ने ५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसंख्या र पानीको अन्य स्रोतहरु नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने ५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।

अहिलेपनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकहरुले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक÷आधा घण्टा मात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराका विकास विसीले गुनासो गर्नुभयो । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानी समेत नहुने विसीले बताउनुभयो ।

यस्तै काजिन्द्रामा विएलबी होटेल सञ्चालन गर्दै आउनुभएका विनोद केसीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बताउनुभयो । एक साता यता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताउनुभयो । पानी नभएकै कारण होटेलमा आउने मान्छेहरुलाई रोक्नुपर्ने अवस्था आइसकेको केसीले बताउनुभयो ।

अहिले सिस्ने ५ नम्बर वडामा ३ वटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोटा खानेपानीका प्राविधिक सुन्दर शाहले बताउनुभयो । उहाँकाअनुसार अहिले सिस्ने ५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फील्टर सफा नगरेको र रोटेसन नमिलाएको कारण यो समस्या आएको उहाँले बताउनुभयो ।

अब भने यो समस्या समाधानको लागि रोटेसन मिलाएर पानी वितरण गरिने भएको छ । प्राविधिक शाहका अनुसार टाकुराको थापा टोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छोडिने छ । साझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छोडिने शाहले बताउनुभएको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ का वाडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताउनुभएको छ । केहि दनिमै खानेपानीमा देखिएको यो समस्या समाधान हुने वडाध्यक्ष विकले बताउनुभयो । यो समस्याको दिर्घकालिन समाधान भने थाक्ना खोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उहाँको भनाई छ । थाक्ना खोला खानेपानी आयोजना करिब ५ करोडको लागमा निर्माण हुन लागेको छ ।