रुकुम(पूर्व) मा नेकपा एमालेको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । अधिवेशन भएर नयाँ जिल्ला कमिटी चयन भएपछि एमालेको मंगलबार पहिलो बैठक रुकुमकोटमा बसेको हो । पहिलो बैठकमा नयाँ जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । जिल्ला कमिटीका १ सय ७ जनालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्काले सथप ग्रहण गराउनुभएको हो । एमालेको जिल्ला अधिवेशन भने गएको फागुन २७ देखि ३० गतेसम्म चलेको थियो ।

साथै बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको जिल्ला कमिटिका सचिव गोपाल रेउलेले जानकारी दिनुभयो । यस्तै टोपबहादुर मल्लको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला सल्लाहकार समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र केसी, सचिवमा कमलप्रसाद गौतम, र सहसचिवमा दलबहादुर केसी रहनुभएको छ । साथै बैठकले चेताराम उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय ज्येष्ठ कम्यूनिष्ट मञ्च पनि गठन गरेको सचिव रेउलेले बताउनुभयो ।

उहाँकाअनुसार जिल्ला कमिटीको बैठकले गाउँ कमिटीको बैठक बसेर निर्णय गर्ने र वडाहरुमा जाने निर्णय गरेको छ । नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष टोपबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य खेममान खड्काको प्रमुख आतीथ्यता रहेको थियो । बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य नन्दलाल शर्मा, निर्माण बुढा, प्रदेश सदस्य बलबहादुर केसी, कैलाश मल्ल, बागलाल बुढा, पशुपती खड्कालगाएतको आतीथ्यता रहेको थियो ।