नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका रुकुम(पूर्व) ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले प्रतिबद्धता सार्वजनिक गरेको हो । माओवदी केन्द्रको तर्फबाट सिस्ने गाउँपालिका अध्यक्ष पदको उम्मेद्वार बन्नुभएका कृष्ण रेग्मिलगाएतका उम्मेद्वारलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) का सदस्य वासुदेव गौतम, सिस्ने पार्टी गाउँसमितिका उपाध्यक्ष गोबरधन बुढा, सचिव कर्णबहादुर खत्रीलगाएतले प्रतिबद्धतापत्र हस्तान्त्रण गर्नुभएको छ ।

प्रतिवद्धता पत्रमा सुशासन तथा स्थानीय सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, भौतिक पूर्वाधार, पर्यटन, कृषि लगाएतका क्षेत्रमा केके काम गर्ने भनेर उल्लेख गरिएको छ । सार्वजनिक गरिएको घोषणा पत्रमा “सुशासन, विकास र सेवा प्रवाहमा गुणस्तरियता, समृद्ध सिस्नेको मूल प्राथमिकता” भन्ने नारासहित विभिन्न कामहरुलाई अघि सार्ने जनाइएको छ । यस्तै शिक्षामा “आधारभूत शिक्षामा समान पहुँच अनिवार्य ! प्रविधिमा आधारित गुणस्तरीय शिक्षा अपरिहार्य !!” स्वास्थ्यमा “रोग नलाग्ने चेतना व्यक्ति व्यक्तिमा ! उपचारको सुविधा बस्ति बस्तिमा !!” भन्ने नारासहित विभिन्न योजनाहरुको परिकल्पना गरिएको छ ।

“खानेपानी तथा सरसफाईतर्फ घरघरमा शुद्ध पिउने पानी, फोहोर विसर्जनामा विशेष सावधानी” भन्ने नाराअनुसार कार्यक्रम बनाइएको छ भने भौतिक पूर्वाधारतर्फ “समृद्ध सिस्नेको आधार, गुणस्तरीय भौतिक पूर्वाधार” पर्यटनमा “ग्रामिन पर्यटनको विकास, बेरोजगारीको निकास” एवम् कृषिको लागि “कृषिमा आधूनिकिकरण, गरिबिको निवारण” भन्ने नारासहितका विभिन्न योजनाहरु प्रतिबद्धता पत्रमार्फत सार्वजनिक गरिएको छ । साथै अन्तर सम्बन्धित विभिन्न विषयहरुमा पनि विभिन्न योजना निर्माण गरि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्षका उम्मेद्वार कृष्ण रेग्मि, उपाध्यक्षका उम्मेद्वार आस्था विक, ६ नम्बर वडाध्यक्षका उम्मेद्वार रुपेन्द्र मल्ल, ४ नम्बर वडाध्यक्षका उम्मेद्वार कलबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य वासुदेव गौतम, पार्टी सिस्ने गाउँ समिति उपाध्यक्ष गोबरधन बुढा, सचिव कर्णबहादुर खत्रीलगाएतको उपस्थिती रहेको थियो ।