हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी अभियान सुरु गरेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी अभियान सुचारु गरिएको हो । चुनावी अभियान पुथा उत्तरगंगा गाउँपालिका १२ कोलबाट सुरु गरिएको छ । चुनावी अभियानमा र्यालीसहित कोल गाउँलाई परिक्रमा गरि लामो ठारा भनी चिनिने ठाउँमा कोण सभा गरिएको थियो ।

कोण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री दलजित सिर्पाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य तेजबहादुर ओली, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य भिउमान घर्ती, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य महेन्द्र बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य ओम कुमारी शाही, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा समिति अध्यक्ष हर्कबहादुर कामी लगायतको उपस्थिती रहेको थियो ।

चुनावी अभियानको कोण सभामा स्थानीय तह निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिनुभएका पुनिराज घर्ती र उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका भुपेन्द्रा बुढाले आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले १२ वडा बासीलाई आफुहरुलाई बिजय बनाउन अपिल गर्नुभयो । विशेष गरि नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा घर्तीलाई सिफारिस गर्दा १२ नम्बर वडाबासी असन्तुष्ट भएका थिय । असन्तुष्टि भएको यस वडालाई नै विकासमा पहिलो प्रथामिकता दिने प्रतिबद्धता अध्यक्षका उम्मेद्वार घर्तीले जनाउनुभएको छ ।

कोलमा भएको चुनावी अभियानमा केन्द्र, प्रदेश र जिल्ला तथा पालिकातहका नेताहरुले माओवादी केन्द्रलाई भोट दिएर चुनावमा जिताउन अपिल गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका पुथाउत्तरगंगा गाउँपालिका १२ का वडाध्यक्ष ताराप्रसाद रासाइलीको अध्यक्षतामा भएको चुनावी सभा कार्यक्रममा पार्टी गाउँ समितिका उपाध्यक्ष गंगा बहादुर पुनको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन वडा समिति सचिव मन्जित पुनले गर्नु भएको थियो ।