
लिङ्गका आधारमा गरिने कुनै पनि नकारात्मक व्यवहारलाई लैङ्गिक हिंसाको रुपमा परिभाषित गरिएको विश्व परिप्रेक्ष्यमा कस्तो खालको र कति हदसम्मको नकारात्मक व्यवहारलाई हिंसाको रुपमा लिने भन्ने कुरा विश्वव्यापी कानून, सन्धि, सम्झौतादेखि लिएर राष्ट्रिय, स्थानीय कानूनी प्रबन्धले स्पष्ट गर्ने प्रयत्न गरेको भएता पनि ठ्याक्कै मापन गर्न कठिन नै देखिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा उच्चारणमा लैङ्गिक हिंसा भए पनि अभियान्ताहरुमा नै महिला हिंसा विरुद्धको अभियान कि लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने कुराको व्यवहार र बुझाइमा अन्यौलता देखिन्छ । तुलनात्मक हिसाबले महिलाले नै अधिक हिंसा र पिडा व्यहोर्नुपर्ने हाम्रो सामाजिक संरचनामा महिला हिंसालाई नै लैङ्गिक हिंसाको रुपमा बुझिनु र महिलाको सवालको रुपमा मात्रै बुझिनुलाई अन्यथा मान्न नसकिएला ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुवातको सन्दर्भ र वर्तमान अवस्थामा हिंसाको स्वरुप, रोकथाम र प्रतिरक्षा सम्बन्धी व्यवस्था लगायतका कुरामा व्यापक परिवर्तन आएको छ । लैङ्गिक हिंसामा कुनै एउटा व्यक्ति, वर्ग, समुदाय र लिङ्ग मात्रै संलग्न रहन्छ भन्ने सोचाई संकिर्ण भइसकेको छ । यो हिंसाको साँच्चै गहिराइमा पुगेर मनन र विश्लेषण गर्ने हो भने सायद हिंसा नभएको ठाउँ र हिंसामा संलग्न (हिंसा भोग्ने र हिंसा गर्ने) नभएको मानिस बिरलै भेटिएला । अझ विश्वमा आदर्शको रुपमा रहेको हिंसा शुन्य सहनशीलताकै कुरा गर्ने हो भने त आफैले आफैलाई पनि लैङ्गिक हिंसाको सिकार बनाइरहेको हुन सक्छ । पुरुष प्रधान समाजका हामी महिलाले महिला (छोरी, बुहारी, आमा) भएको कारण हामीले यसो गर्न हुँदैन, यतिसम्म सहनुपर्छ भन्ने मानसिकताले आफैलाई वा परिवार र समाजका महिला सदस्यलाई कमजोर रूपमा स्वीकार गर्न बाध्य बनाउनु यसैको एउटा उदाहरण हो ।
यसो भन्दै गर्दा कति पुरुषहरु पनि लैङ्गिक हिंसा पिडित भएर पिल्सिरहेका कुरा पछिल्लो समय सुन्न, देख्न नपाइने होइन । लैङ्गिक विभेद र हिंसाकै उपज ‘पुरुषले आफ्नो दुख र पिडा देखाउनु हुँदैन’ भन्ने मान्यताले बाहिर नआएका त कति होलान कति ? मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि,१९७९ लगायतका अन्तर्राष्ट्रिय घोषणापत्र तथा महासन्धिको पक्ष राष्ट्र समेत भई नेपालमा सन २००६ देखि मार्च ८ नारी दिवसको अवसरमा सेतो रिबन अभियानको सुरुवात गरिएको थियो । त्यस यता सरकार तथा अभियान्ताहरुको आयोजना र संलग्नतामा हरेक वर्ष कुनै न कुनै औपचारिक कार्यक्रम गरिँदै आएका छन । यसै सिलसिलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२२ (तदनुसार २०७९ मंसिर ९ देखि २४)अन्तर्राष्ट्रिय नारा: “UNITE! ACTIVISM TO END THE VIOLENCE AGAINST WOMEN AND GIRLS!” र राष्ट्रिय नारा:“सभ्य समाजको पहिचान:लैङ्गिक हिंसा विरुद्धको अभियान!” सहित समापनको चरणमा छ ।
यति सुन्दर शब्द संयोजन सहितको नारा र व्यानरसहित नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सरोकारवालाहरुको आयोजना र संलग्नतामा अभियानको भव्य र औपचारिक रुपमा उद्घाटन भइसकेपछि यहि अभियान अवधिमै पनि हरेक दिन महिला हिंसा र हत्या जस्ता जघन्य अपराधका दु:खदायी खबरहरु सुन्न, देख्न र पढ्न परेकै छ । यिनै घटना परिघटनाहरुबाट लैङ्गिक हिंसा विरुद्धको अभियानलाई हिंसाकै अभियानको रुपमा गिज्याइरहेको तितो यथार्थ हामीसँग छ।यसै सन्दर्भले लैङ्गिक हिंसासम्बन्धी परिभाषा र आफ्नो बुझाइलाई साँघुरो पार्दै महिला हिंसाकै कुरा व्यक्त गर्न बाध्य बनाइरहेको छ ।
एउटी आमाले रहर हुँदाहुँदै पनि आफ्नो कोखबाट छोराको जन्म दिन नसकेको कारण आम महिलाको लागि सबैभन्दा असह्य र अनपेक्षित कुरा ‘आफ्नो श्रीमान अर्को महिलासँग बाँड्न बाध्य बनाउने’ हाम्रै समाज र संस्कार हो।परिवर्तित सन्दर्भसँगै महिलाहरुको घर बाहिरका सार्वजनिक सरोकार र आयआर्जनका काममा संलग्नता बढ्दै गर्दा समावेशीकरणका हिसाबले गर्व गर्न लायक अवस्था हो । अर्कोतिर घरभित्र र घरबाहिरको दोहोरो जिम्मेवारी स्वत: थोपरिएको छ।यति मात्रै होइन एकातिर उसकै कारण परिवार बिग्रिएको अर्कातिर उसको पदीय जिम्मेवारीमा सक्षमताको प्रश्न चिन्ह पनि खडा गरिन्छ अनि असक्षम र असफलताको बिल्ला भिराइन्छ।समावेशीकरणका लागि भएका राम्रा व्यवस्थासँगै यो पनि सोचिनुपर्ने बेला भएको छ कि यसको प्रभावकारिताका लागि कागज र कुर्सीबाट होइन घरबाटै आफ्नो भूमिका र व्यवहार परिवर्तन गर्नु हरेक व्यक्तिकोकर्तव्य हो ।
एउटा सन्दर्भ: श्रीमान र श्रीमती बिहान सँगसँगै घर बाहिरको काममा निस्किन्छन, दिउँसो घरमा आफ्नो बच्चा, बच्ची र वृद्धवृद्धाको स्याहार, सुसार अनि ऊ घर फर्किँदा चिया, खाजा, खानाको बन्दोबस्त उसको श्रीमतीले नै गरिदेओस् भन्ने अपेक्षा राख्दछ । ऊ सँगै काम गर्ने महिला सहकर्मीले पारिवारिक जिम्मेवारी पनि सँगसँगै व्यवस्थापन गर्न काममा बाधा नपर्ने गरी लचकता खोज्दा संगठनको सर्तअनुसार नगरेकोले सार्वजनिक जिम्मेवारीको लागि अयोग्य ठहर्याउँछ । उसलाई थाहा छैन कि ऊ र उसको जस्तै सोँच र व्यवहार भएकाहरुको कारणआम महिलाहरु(उसका घरका महिला समेत) लेआफ्नो घर र कार्यस्थलमा त्यहि अवस्था झेल्नुपरेको छ । यो पुरुष पात्रमाथिको प्रश्न होइन प्रवृत्तिको सवाल हो जुन महिलाभित्र (सासु, जेठानी, आमाजू लगायतबाट बुहारी,देउरानीमा हुने व्यवहार) पनि हुन्छ । अझै पनि सङ्यात्मक रुपमा कम सहभागिता रहने महिलाहरु पुरुषको बाहुल्यता भएको ठाउँमा बसेर काम गर्दा सहनुपर्ने भोग्नुपर्ने असहज व्यवहारले काम छोड्नुपरेका घटनाहरु कति होलान, संविधान र कानूनमा महिला समावेशीकरण र सहभागिताको नीतिलाई महत्व दिइएको भएता पनि महिलामैत्री कार्यवातावरण र व्यवहार महशुस गर्न नसकिने तितो अनुभव गर्नुपरिरहेकै छ । यी र यस्ता खालका विभेदले नै शरीरमा चोट नदेखिए पनि हिंसाकै स्वरुप लिइरहेका हुन्छन ।
तुलना गर्दै जाँदा एउटाको भन्दा अर्कोको पिडा कम बढी होला तर हिंसा कहाँ र कसले देखे भोगेको छैन होला र ? यसरी लिङ्गकै आधारमा छोरीहरुले गर्भदेखि नै हिंसाको सिकार हुनुपर्ने, आफ्नो इच्छा र रहरलाई तिलाञ्जली दिएर अरुका लागि बाँच्नुपर्ने, कसैसँग बिहे गर्न नमानेकै कारण कहिले एसिड आक्रमण त कहिले ज्यानै गुमाउनुपर्ने, बिहे गर्नका लागि मोल मोलाई हुनुपर्ने, माइति पक्षबाट माग बमोजिम सम्पत्ति नपाएका कारण शारिरीक मानसिक पिडा र अपमान मात्रै होइन ज्यानै गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न र लैङ्गिक हिंसा/महिला हिंसा विरुद्धको आवाज र अभियानलाई आम सरोकारको सवालको रुपमा स्वीकार गरी हरेक परिवारबाट अभियान चलाऔं । हरेक दिन परिवारमा विभेद र हिंसा विरुद्ध छलफल गरौं, यस्ता अपराध नगर्न र नसहन प्रोत्साहन गरौं । हाम्रा छोरी, चेलीहरुले अर्काको गल्तीको कारणवा ससाना पिर र त्रासले आफ्नो देह त्याग गर्ने होइन आफ्नो जीवन स्वतन्त्रपूर्वक र खुसी साथ जिउनका लागि अदम्य साहस आँट र हौसलाले भरिपूर्ण हुन सकुँन ।
दाइजोको नाममा होओस या चरित्र र रुपरंगको कारण देखाएर हुने हिंसा र यातनालाई इज्जत र प्रतिष्ठासँग जोडेर लुकाउने, सहेर बस्ने होइन एक्लै भएपनि त्यसका विरुद्ध डटेर लड्ने सामना गर्ने हिम्मत जगाइनुपर्छ । हरेक परिवारबाटै यस्तो अभियान र आँट गर्न आफ्नो सोँच र व्यवहार बदलौं अनि त यस्ता औपचारिक अभियान र नारामा सिमित नभई नतिजामै सुन्दर र सुरक्षित परिवार, समाज, देश र विश्वको निर्माण हुन्छ ।
हरेक व्यक्ति, परिवार र समुदायमा सुरक्षा, न्याय र समानता कायम गर्न व्यक्ति, परिवार र समुदायकै जिम्मेवारी, सचेतना र जागरण बिना सम्भव छैन । आम नागरिकको सुरक्षा र न्याय कायम गर्नु प्रमुख दायित्व सरकारको भएपनि यस्तो औपचारिक संयन्त्र र कानूनको परिचालन मात्रै पर्याप्त हुँदैन । महिला हिंसा न्यूनीकरण र अन्त्य गर्न महिलाको भूमिका र चेतना नै सकारात्मक र व्यापक हुन जरुरी हुन्छ । जबसम्म हामीले ‘महिलाको शत्रु महिला नै हुन्छन’ भन्ने युक्तिलाई सत्य सावित गरिरहनेछौं तबसम्म हाम्रो अधिकार, समानता र न्यायका लागि अरुबाट अपेक्षा गर्ने अधिकार रहने छैन यदि गरिहाल्यौं भने पनि पूरा हुने छैन।कार्यस्थलमा महिला सहकर्मी (अझ हाकिम) लेअर्को महिला सहकर्मी, परिवारमा महिला सदस्यले अर्को महिला सदस्य, समाजमा सम्पन्न महिलाले विपन्न र असहाय महिलालाई हेयको भावले हेर्ने, उसलाई कमजोर बनाउँदा आफ्नो सफलता देख्ने तर त्यहि ठाउँमा पुरुष पात्र हुँदा विश्वास र सम्मान गर्ने यथार्थकाबीच कसरी एउटा महिलामा आफ्नो कार्यस्थल, परिवार र समाजमा एक्लै आफ्नो विचार र सवालमा निर्धक्कले उभिएर प्रतिरक्षा गर्ने शक्ति मिलोस।महिलाको अधिकार र न्यायको लागि गठन भएको आमा समुहबाट एक अबला एकल महिलाको बाँच्ने अधिकार नै खोसियो, सन्तानको ममता नै चुँडाइयो भनेको सुन्नुपर्ने अवस्था हुनुले महिलाको अस्तित्व रक्षाको बाधक नै महिला बन्न बेर छैन ।
एक महिलाले अर्को महिलाको अस्तित्वलाई सम्मान र विश्वास गर्न नसक्दासम्म हिंसाको अन्त्य कसले गरिदेला ? अभियानलाई महिलाको मात्रै नभएर सबैको सरोकारको सवालकसरी बनाउन सकिएला ? ‘अचानोको पिर खुकुरीले जान्दैन’ भने जसरी स्वभावैले समाजमा महिलाले सहनुपर्ने पिडा र हिंसामा महिलाले जति महशुस गरिरहेका छन त्यो कुरा पुरुष पात्रले अनुमानसम्म गर्न सक्ला तर महशुसनगर्न सक्छ । महिलाको संलग्नता र ऐक्यवद्धता बिनाको अभियान सार्थक नहुन सक्छ । महिलाभित्र पनि अझ कमजोर, अशिक्षित, विपन्न, असहाय, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिलाको सशक्तिकरणर सम्मानका लागि राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक क्षेत्रमा पहुँच र जिम्मवारी रहेका महिलाले नै विशेष अभियान र अनुकरणीय भूमिका निर्वाह गर्न ढिला भइसकेको छ ।
महिला सचेत, सुरक्षित र सम्मानित भए भने घर, समाज नै सुरक्षित र सम्मानित हुनेछ समाजमा लैङ्गिक हिंसा देख्न भोग्न पर्ने छैन । अभियान्ता र सरोकारवालाहरुको अबको ध्यान औपचारिक कार्यक्रममा सिमित नरहेर अन्तर्राष्ट्रिय अभियानलाई पारिवारिक र सामाजिक अभियानको रुपमा सञ्चालन र प्रोत्साहन गर्दै महिलाको हिम्मत र सम्मान बढाउन, सशक्तिकरण गर्न, न्यायपूर्ण घर, समाज र विश्व निर्माणमा केन्द्रित गर्नुपर्छ कि !