नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रुकुम पुर्वमा सरसफाइ  गरिएको छ । आज मंगलबार प्रेस सेन्टर नेपाल रुकुमपूर्वको आयोजनामा जिल्ला सदरमुकाम रुकुमकोटमा बजार सरसफाई र कोण सभा कार्यक्रम गरिएको हो ।

२०६१ माघ १५ गते रुकुमपूर्वको भूमे गाउँपालिका–७ लाबाङ गाउँमा पहिलो पटक प्रेस सेन्टर नेपालको स्थापना गरिएको थियो ।पत्रकारले समाचार मार्फत मात्र खबरदारी नगरी सिर्जनशील काममा समेत अग्रसर भइ नागरिकलाई जागरण गर्ने काम पनि गर्ने गरेको प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढामगरले बताउनुभयो ।

बजारमा फोहोर बढी रहेकोले यसको सरसफाई कस्ले ध्यान दिने र सरसफाई गर्ने चुनौती देखिएको अध्यक्ष बुढामगरले बताउनुभयो । बजार सफाइ र सुन्दर राखिराख्न स्थानीय सरकार र बजार व्यवस्थापन समितिले विशेष कार्यक्रम गरी अघि बढ्नु पर्ने जरुरी देखिएको उहाँको भनाइ रहेको छ । सरसफाई कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्णलाई प्रेस सेन्टर नेपाल रुकुमपूर्वले धन्यवाद व्यक्त गरेको छ ।

पत्रकार समाजको एक सचेत नागरिक भएको जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । पत्रकारले मिडिया मार्फत नराम्रा कामलाई खबरदारी र राम्रा कामलाई उजागर गर्ने काम गर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो । यसको साथसाथै दिवसहरुको अवसरमा पत्रकारले सिर्जनशील कार्य गर्दै आएको उहाँले बताउनुभयो । पत्रकारले समाचार मार्फत र सिर्जनशील कार्य मार्फत नागरिकलाई निरन्तर सचेत गराइ राख्न समेत प्रमुख श्रेष्ठले सुझाव दिनुभयो ।

रुकुमकोट बजार सरसफाई कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरी लगायतको उपस्थित रहेको थियो ।