रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सानीभेरी प्रिमियर लिग (एसपिएल) खुला पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा नम्बर ३ को बेल्टापु रङ्गशालामा असोज २० गते देखि २५ गतेसम्म लिग हुने भएको हो । प्रतियोगिता सञ्चालनका लागि सञ्चालन समिति गठन गरिएको छ भने जिल्ला क्रिकेट सङ्घ रुकुमसँग समन्वय गरिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६० हजार तथा सान्त्वना हुने २ टिमले समान १० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक मदन ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । म्यान अफ द सिरिजले नगद ५ हजार पुरस्कार पाउँदा वेस्ट ब्याट्सम्यान, वेस्ट बलरले समान २ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार पुरस्कार पाउने ओलीले बताउनुभयो । सबैलाई ट्रफि, मेडल र प्रमाणपत्रको समेत व्यवस्था छ ।

खेल खुला पालिका स्तरीय रहेको र प्रत्येक टिमले पालिका बाहिरका तीन जना खेलाडी राख्न पाउने आयोजकले बताएको छ । यसले सबै टिमलाई सन्तुलित बनाउने आयोजकको विश्वास छ । प्रतियोगिता टेनिस बलले खेलाइने छ । पुरस्कार राशिका हिसाबले यो जिल्लाको हालसम्मको ठुलो क्रिकेट प्रतियोगिता हो ।

प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने विभिन्न व्यक्ति तथा संस्थालाई समेत आर्थिक सहयोगका लागि अपिल गरिएको संयोजक ओलीको भनाई छ । प्राविधिक लगायतका सहयोग जिल्ला क्रिकेट सङ्घले गर्ने भएको छ ।

जिल्लाको क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्देश्यले सानीभेरी प्रिमियर लिग आयोजना गरिएको बताइएको छ । यही मैदानमा भर्खरै दोस्रो फुक्रु कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो ।।