
समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व)का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।
पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने फागुनको पहिलो साता सकिनै लाग्दा समेत हिउँ परेको छैन भने तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन् । हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिन थालेका छन् । हिमालको प्राकृतिक सौन्दर्यता नै हराउँदै गएको रुकुम (पश्चिम) बाफिकोट गाउँपालिकाका हिमाल आरोही मनबहादुर खत्री बताउनुहुन्छ । हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।
दर्जन हिमालको आरोहण गरिसक्नुभएका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताउनुभयो । चार/पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमाललाई अहिले नियाल्दा चट्टान मात्र देखिने गरेको उहाँको भनाइ छ । राप्ती राजमार्ग होस या मध्यपहाडी लोकमार्गको यात सहिदमार्ग भएर यात्रा गर्दा होस रुकुम पूर्व सहित रोल्पा र रुकुम पश्चिमको विभिन्न ठाउँबाट विगतका यो समयमा हिउँले टलक्कै टल्किएको सिस्ने हिमाललाई हेर्दै र आफुलाई पनि सिस्ने हिमालको समिपमै राखेर फोटो खिच्ने रमाउनेहरुको जमात हुन्थ्यो । पछिल्ला वर्षहरुमा सिस्नेमा हिउँ पर्न छोडेपछी हिमाल भन्ने नाम कस्तो कस्तो सुनिन थालेको बुढापाकाहरु बताउछन् ।
रुकुम (पूर्व) मा पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाइ भएका पाँच वटा हिमाल रहेका छन् भने अन्य साना थुप्रै हिमाल र हिमताल छन् । जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६ मिटर उचाइ रहेको छ ।
यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मिटर रहेको छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मिटर छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मिटर रहेको छ ।