यात्रामा निस्किए फूलहरु खोज्न,
सकिन दुइमा एकलाई रोज्न
किनकी
यात्रामै भेटिएका थिए
सुन्दर फूलरुपी मनहरु पनि……
यात्रा सबैलाई मन नपर्ला । तर जसलाई यात्रा मन पर्छ उसलाई प्रकृति मन पर्छ । प्रकृति मन पराउनेहरुलाई म मन पराउछु । त्यसैले त प्रकृतिलाई मैले पढिरहेछु । ल पढ भनेर आफुलाई प्रकृतिमा छोडिरहेछु । त्यसैले त हो, उसले पनि मलाई पढोस भनेर बेलाबेलामा प्रकृतिलाई पढ्न आफै पुग्ने गरेको छु । यसै क्रममा ढोरपाटनको बुकी पाटनलाई पढ्न पुगे । थाहा छैन् खै, मैले उसलाई कती पढे र उसले मलाई कती पढ्यो । जती मैले उसलाई पढे लाग्छ अझै धेरै पढ्न बाकी नै छ ।

GIFT DHORPATAN ( Green Identity For Tomorrow) भविष्यको लागि हरित पहिचान भन्ने संस्थाले “जलवायु परिवर्तनको लागि विश्वव्यापी एकता” भन्ने नारासहित तिन दिने बुकी पदयात्राको तयारी गरेपछी म पनि यो यात्रामा जोडिए । साउनको १२ गते रुकुमकोटबाट काठमाडौंको लागि छुटेको रात्री बसमा चढेर बुर्तिबाङसम्म हिडेको म र साथी करुणाको बस यात्रा रुकुम पूर्व र बागलुङको सिमाना पातिहाल्नामै सकियो । बस बिग्रियो । ३ घण्टा बित्यो । बस गुड्ने अवस्था नै आएन् । यत्तिकैमा रोल्पाको समुह पनि सिमानामा आइपुग्यो । अब रुकुमकोट फर्किनुको विकल्प देखिएको थिएन् । यत्तिकैमा एउटा बोलेरो गाडी आयो । रोल्पाको आलोक शाह दाइले कुरा गर्नुभयो । नीसिसम्म त्यसै बोलेरोमा यात्रा गर्यौ । नीसिबाट ट्याक्सी चढेर साझको साढे ५ मा बुर्तिबाङ पुग्यौ । यस अवधिमा हामीलाई बुकी पाटन घुमाउने साथी रमिता पुनको गनेर नसकिने र भनेर नसकिने फोन अत्याउदै आइरहेको थियो ।
अन्तत बुर्तिबाङबाट साझको ६:१५ मा गाडी चढेर ढोरपाटनको लागि यात्रा अघि बढायौ । यात्राको क्रममा नीसि र भुजी खोलाको सुन्दर संगमसँगै भुजीको साहारा बन्दै विभिन्न ठाउँहरुमा आकृतिसहित झरेका झरणासँग रमाउदै, गाडीको झ्यालबाट आखाले देखिनेसम्मको दृश्यलाई नियाल्दै अघि बढ्यौ । बोबाङ पुग्दासम्म झमक्कै रात परिसक्यो । अगाडीको बाटो भन्दा अरु केही नियाल्न सक्ने स्थिती थिएन् । बाटो हेर्दा मुठीमा प्राण होला जस्तो लाग्थ्यो । जसोतसो गर्दै साझको ९ बजेतिर ढोरपाटनमा पुगियो । हाम्रो पदयात्राको सबै जना हामी भन्दा पहिले नै ढोरपाटनमा पुगिसक्नुभएको थियो । त्यहाँ पुग्दा परिचित अनुहार कमै थिए । अपरिचत अनुहार जो यात्राको क्रममा परिचित हुनलाई बाकी धेरै थिए । त्यस रात खान बस्नलाई सामुदायिक होमस्टेमा व्यवस्था गरिएको थियो ।

खाना खाइवरी सबै जना सुत्यौ । बिहानको खाजा पछि आयोजकले सबैलाई एकअर्कामा चिरपरिचित गराउदै पदयात्राको उदेश्यको बारेमा जानकारी गराएको थियो । साथै पदयात्रीहरुलाई माला, पुष्प गुच्छासँगै सेतो टिका लगाउदै मनलाई बिछ्याएर स्वागत गर्दै पदयात्रा सफलताको सुभकामना व्यक्त गर्दाको पलको अनुभूती बेग्लै छ । केहीबेर ढोपाटनको फाटमा रमायौ । त्यसपछि खाना खाएर हामी दिउसोको २ बजेतीर गर्पाछेडाको लागि यात्रा तय गर्यौ ।
यात्राको सुरुआतसँगै देखिएका थिए नयाँ नयाँ दृश्यहरु । आखाले हेरिरहेका थिए । मनहरु रमाइरहेका थिए । पाइलाहरु अघी बढिरहेका थिए । झरीले पनि त हाम्रो साथ छोडेको थिएन् ।

पहिलो दिन ढोरपाटनबाट चेप्टा ढुङ्गा–ठाडो खोला–ढुङ्गे दरेउराली हुँदै ४ हजार मिटरको उचाइमा रहेको गर्पा छेडामा गएर बास बसियो । दोस्रो दिनमा गर्पा छेडाबाट सुरुआत गरिएको यात्रा फुस्रे देउराली–टिकाधारा हुँदै फागुनेको धुरीमा गएर टुङ्गियो भने तेस्रो दिनको यात्रा फागुनेको धुरीबाट जल्पाताल पुगेर पुन:फागुनेको धुरी झरेर ठुलो मारी–सानो मारी–जौले बिसौना–भूजीखुङ–भुजी–स्यालपाखे हुदैँ ढोरपाटनमा आएर टुङ्गिएको थियो ।

यो यात्राको क्रममा जलाकीहरु भेटिए । जहाँ हजारौ यात्रीहरुको मनोकामना बाटोमा छरिएर बसेका थिए ।फूलहरुसँग भेट भयो । फूलरुपी सहयात्रीसँग पनि भेट भयो । भेडाका बथानसँग रमाइयो । हावाको स्पर्श कडा । ज्याकेटले छेकियो । यात्रामा थकान अनुहारमै देखिन्थ्यो । यात्राको पल, सुन्दरताको बयान र थकानको गन्थन त्यही बुकी पाटनलाई सुनाइयो । यात्राको क्रममा बिजौरी, रथबिरथ, राँके, सुर्यमण्डल, पुतली, फट्याङ्ग्री, बटारे, नाकंफुली, कप्टेरी, तारामण्डल, दहिठेकी जस्ता विभिन्न फूलहरुसँग रमाउदै र फोटो खिच्दै यात्रा गर्यौ । मैले यी फूलहरुको सुन्दरतालाई बयान गर्न ओजनदार शब्दहरु भेट्न सकिरहेको थिएन् । खै फूलहरुले मेरो बारेमा के सोचे ।

पाटनले दिल खोलेर फूलहरुको गलैचाँमा स्वागत गर्दाको पलको खुसीलाई मैले शब्दमा उतार्न सकिन् । तीम्रो स्वागतले म मन्त्रमुग्ध थिए । तर तिम्रो छातीमा मलाई पाइला टेक्नै मन थिएन् । तिम्रो सुन्दरता कुल्चिने डरले । यसपाली मैले तिम्रो शृङ्गारलाई जानेर कुल्चिएको छैन्, टिप्न त परको कुरा हो । बरु धित मरुन्जेल तिमिलाई हेरे अनी क्यामेरामा कैद गरेर ल्याए । जसलाई म जुनसुकै बेलामा हेर्न र चुम्न सकु ।

मलाइ लाग्यो फूलको बयान गर्दा पाटन, पाटनको बयान गर्दा हिमाल र हिमालको बयान गर्दा कतै तिमी पो रिसाउछौ की ? मनमा यस्तै कुराहरु खेलेपनि पाटनहरु मसँग मस्किएकै थिए । हिमालहरु हासेकै थिए । फूलहरु हावाको मन्द गतिसँगै नाचेकै थिए । यो कुरा कुहिरोलाई चित्त बुझ्दैनथ्यो क्यारे । छिनमै हिमाल, छिनमै पाटनलाई छोपिदिन्थ्यो । खैर केहि छैन्, मलाई कुहिरोसँग पनि त प्रेम थियो ।
यात्रा सहज थिएन् । कतीपय ठाउँमा बाटोमै हराएका थियौ । तर पनि गन्तव्यको खोजीमै थियौ । देशका विभिन्न जिल्लाहरुबाट जम्मा भएका पदयात्रीहरु ४६/४७ सय मिटरको उचाईलाई छिचोल्दै ४४ सय मिटरको उचाईमा अवस्थित जल्पा तालमा पुग्दा सबैले गन्तव्य चुमेका थिए । त्यो पलको आनन्द बेग्लै थियो ।

जल्पाको छेउमै आस्थाको धरोहर । जहाँ बुकी फूलहरु चढाएर मानिसहरुले मनको चाहना खोलेका थिए । जल्पालाई जलयुक्त बनाउन खागरको बिचबाट गर्जिदै नदि बगिरहेको थियो । जल्पामा प्राण भरेर त्यही नदि आफ्नै रफ्तारमा बगिरहेको थियो । जल्पाको चारैतिर रंगिबिरंगी फूलहरु थिए ।
थाहा छैन्, जल्पालाई हेरेर फूलहरु मस्किएका हुन् की फूललाई हेरेर जल्पा …..। म भने फूलहरु, जल्पाको पेरिफेरी, पाटन, हिमाल र सबै सबैसँग मस्किएर आए ।




